इटहरी: मंगलबार साँझ भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये एक २५ वर्षीय महिला सुनसरीको झुम्काबाट गएको खुलेपछि उनका घरमा भएका परिवारलाई चेक गर्न अस्पताल लगिएको छ । ती महिला सुनसरीबाट दुई दिन अघि मात्र काठमाडौँ पुगेकी थिइन् ।
कन्ट्राक्यक ट्रेसिङ मार्फत उनी सुनसरीबाट काठमाडौँ पुगेको आधारमा ती महिलाको घरमा रहेका ४ जना सदस्य उच्च जोखिममा राखिएको छ । झुम्का घरमा रहेका बुबा, आमा, हजुरआमा र भाईलाई स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल सुनसरी लगिएको छ । साथै ती महिलासँगै काठमाडौँ गएका एक जना झुम्काकै व्यक्ति समेत उच्च जोखिममा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार महिलाको घर र छिमेकी एरिया शिल गरि परिवारका सदस्यलाई स्वास्थ्य परिक्षणको लागि इनरुवा ल्याइएको बताए ।
महिलाको घर आसपास छिमेकीहरुको पनि स्वास्थ्य परिक्षण गरिने उनले बताए । उनि घर रहदाको ‘ट्राभल हिस्ट्री’ निकाल्ने काम भइरहेको समेत जानकारी दिए ।
उनको पनि ३ जनाको परिवार समेत उच्च जोखिममा परेका छन् । कोरोना सङ्क्रमित महिला नर्स रहेको बताइएको छ । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि हाल टेकु अस्पतालमा भर्ना गरिएको छ । सुनसरीबाट मोटरसाइकल चढेर ती महिला वैशाख २९ गते भक्तपुरको नयाँठिमीस्थित साथीको डेरामा आएकी थिइन् ।