विराटनगरः भारतमा रेल सेवा सुरुभएसँगै प्रदेश १ मा २० हजार भित्रने अनुमान गरिएको छ । अहिले पनि केही मानिस आइरहेकोमा रेल सेवा सुरु भएसँगै ठूलो संख्यामा भित्रिने प्रदेश सरकारले अनुमान गरेको हो ।
रोजगारीका सिलसिलामा भारतको विभिन्न स्थानमा पुगेका मध्ये तत्काल २० हजार फर्कने सम्भावना रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की बताउँछन् ।‘२० हजार तत्काल र्फकन्छन भन्ने हाम्रो प्रारम्भिक अनुमान हो,’ उनी भन्छन, ‘यसरी आउँदा होल्डिङ एरियामा राखेर सम्बन्धित जिल्लामा पठाउँछौं ।’
प्रदेश १ का ३२३ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । ती क्वारेन्टाइनमा ५ हजार ७५७ बेड राखिएको छ । त्यस्तै ५३ स्थानमा ४४९ बेडको आइसोलेशन तयार गरिएको छ । चार स्थानमा ४४ बेडको आईसीयू निर्माण गरिएको छ । भारतमा आंशिक रुपमा रेल सेवा सुरु भएसँगै क्वारेन्टाइन बेडको संख्या थप गर्ने तयारी छ ।
भारतबाट आउनेहरुलाई राख्न जिल्लास्थित सदरमुकाम आसपास क्वारेन्टाइन निर्माण गर्न १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको उनले बताए । ‘सम्बन्धित जिल्लामा आउनसक्ने संख्याको आकलन गरेर क्वारेन्टाइन तयार गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘भारतबाट आएकाहरुलाई सुरुमा नाकामै होल्ड गर्छौं, स्वास्थ्य जाँच पछि सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउछौं ।’
भारतीय सीमा क्षेत्र आसपास निर्माण गरिने होल्डिङ एरिया २ हजार जनासम्म अटाउने गरीको बनाउन लागिएको उनले बताए । खाडी मुलुकबाट र्फकनेलाई पनि व्यवस्थापन गर्न पूर्वतयारी गरिएको उनको भनाइ छ ।
‘भारतबाट मात्र होइन मलेसिया र अन्य खाडी मुलुकबाट नेपालीहरु आउँछन्,’ उनले भने, ‘प्लेन खुलेपछि आउनेहरुलाई पनि सम्बन्धित क्षेत्रमा राख्ने योजना छ ।’ नाकामा होल्डिङ एरिया निर्माण गर्न सार्वजनिक स्थान तथा शैक्षिक संस्था प्रयोग गरिने उनले बताए ।
के हुन्छ होल्डिङ एरियामा
मन्त्री कार्कीका अनुसार सीमा क्षेत्रमा निर्माण गरिने होल्डिङ एरियामा भारतबाट प्रवेश गर्नेहरुलाई राखिन्छ । प्रहरीको निगरानीमा राखिनेहरुको सबै विवरण टिपिन्छ । यसरी टिपोट गर्दा उनीहरुको ठेगाना, परीक्षण गरेर नगरेको अवस्था बुझेर अन्य स्वास्थ्य जाँच पनि गरिन्छ । किट उपलब्ध भएको अवस्थामा कोरोना परीक्षण हुन्छ । किट नभएको अवस्थामा सामान्य व्यक्तिलाई सम्बन्धित जिल्लामा निर्माण गरिएको क्वारेन्टाइनमा राख्न पठाइन्छ । शंकास्पद व्यक्तिलाई आइसोलेसनमा भर्ना गरिन्छ । अनलाइन खबरबाट