इटहरीः सुनसरीबाट भक्तपुर पुगेकी कोरोना सङ्क्रमित महिला (नर्स) को घरसहित छिमेकी ८ वटा परिवारलाई होम क्वारेनटाइनमा राखिएको छ । बिहान सुनसरी प्रशासन र स्वास्थ्यकर्मीको टोलीले सो क्षेत्रमा निरीक्षण गरेपछि रामधुनी नगरपालिका ४ लालपुरस्थित सङ्क्रमित महिलाको घर र आसपास रहेका परिवारलाई यस्तो निर्देशन दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, सुनसरी प्रहरी प्रमुख एसपी कमल थापा, जनस्वास्थ्य प्रमुख, रामधुनी नगरपालिकाका मेयर सहितको टोलीले सो क्षेत्रको नियमित अनुगमन गरिरहेका छन् । प्रशासनले बुधवार सङ्कलित २० जनाको स्वाब रिर्पाेट नआउन्जेल घर बाहिर ननिस्कन समेत निर्देशन दिइएको छ ।
सङ्क्रमित महिलाको परिवार सहित ८ घर परिवारलाई अहिले उच्च निगरानीमा राखिएको अवस्था छ । यी क्षेत्रमा हिँडडुल गर्न रोक लगाइएको छ । बुधवार महिलाको घरका ४ सदस्य सहित २० जनाको स्वाब सङ्कलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षणको लागि पठाइएको छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार सङ्कलित स्वाबको रिर्पाेट साँझसम्म आइपुग्ने जानकारी दिए । अहिले सो क्षेत्रमा सङ्क्रमित महिलाको अझै ’कन्ट्याक्ट ट्रेसिङ’को काम चलिरहेको बताउँदै थापाले सो क्षेत्रमा सुरक्षाका सम्पूर्ण सावधानी अपनाइएको जानकारी दिए ।
‘ती महिला पुगेको ठाउँ र भेटघाट भएका व्यक्तिहरू धेरै छन्’ उनले भने ‘सावधानी अपनाएर सम्पूर्ण विवरण निकाल्दै छौ’ । रिर्पाेट कुरिरहेका छौ, त्यसपछिको अवस्थालाई ध्यानमा राखेर आवश्यक तयारी पनि गरिरहेका छौ । प्रहरीका अनुसार ती महिला चैत्र १० गते सुनसरी आएको जनाइएको छ । उनलाई बाइक मार्फत काठमाडौँ पुराएर फर्किएका छिमेकी दाइको समेत स्वाबको रिर्पाेट आज आउदैछ ।