विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका टंकीसिनवारीमा अवस्थित आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवश नेपालले उद्योग परिसरमा प्रवेश गर्न खोज्ने चार जना भारतीयलाई गेटमै रोकिदिए । ती सबै उद्योगका भारतीय मजदुर हुन । नेपाली मूलका सुरक्षागार्डले शंकास्पद रुपमा भारतीय कामदार आएको प्रशासनलाई जानकारी गराएपछि नेपाल सतर्क भएका थिए ।
‘‘लकडाउनका बेला यतै थियौं, भारत गएका थिएनौं भन्दै थिए,’’ नेपालले भने, ‘‘तर, त्यसको प्रमाण दिन सकेनन् । उनीहरुसंग आधार थिएन,कोरोना संक्रमणको यस्तो त्रासका बेला उनीहरुलाई प्रवेश नगराउने निर्णय लिएँ ।’’ लकडाउन अघि र त्यस लगत्तै उद्योग बाहिर गएका अनि अहिले आउनेहरुमाथि निगरानी थालिएको नेपालले सुनाए ।
भारत बिहारको कटियारका ती मजदुर लकडाउनका बेला बुढीगंगामा थिएनन् । कम्पनीमा कार्यरत एक मजदुरका अनुसार उनीहरु मंगलबार राति नै भारतीय सीमा कटेर नेपाल आएका हुन । बुधबारदेखि फेरि काम गर्न उद्योग पस्ने तयारी गर्दै थिए ।
उद्योगका एक कर्मचारीका अनुसार आरतीकै एकजना ठेकेदार भारतीय पत्रिकाको गाडी चढेर फारबेसगंजसम्म आए । त्यसपछि नेपाल पसे । बिहार राज्यको भागलपुर निवासी ती ठेकेदार लकडाउन र सीमा सिलकै बेला केही दिन नदेखिएको तर अहिले बुढीगंगा आएपछि भने आरती स्ट्रिप्सका मजदुरहरुमा खैलाबैला मच्चिएको छ । एक कर्मचारी भन्छन्,‘‘संक्रमित क्षेत्र भारतबाट पत्रिकाको गाडी चढेर सीमासम्म आएको खबर पायौं । यसरी आउनेलाई क्वारेन्टाइनमा पठाउनुको साटो काममा पठाइँदा मजदुरमाझ ठूलो त्रासदीको अवस्था छ ।’’
आरतीका जनरल म्यानेजर अश्विनी शर्माले अहिले सीमा सिलको बेलामा भारतपट्टिबाट कोही पनि मानिस नआएको दाबी गर्दै भने,‘‘हामीले भारतबाट आएका मानिसलाई निगरानी गरिरहेका छौं । यसरी को आएको हो भन्ने मेरो जानकारीमा छैन् । संक्रमण हुन र फैलन नदिन सक्दो सावधानी अपनाएका छौं ।’’ आरती स्ट्रिप्स भारतीय लगानीको देशकै ठूलो उद्योगमा पर्छ । यो उद्योगमा काम गर्ने अधिकाशं मजदुर भने भारतीयहरु नै छन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग संचालनमा आएसंगै लकडाउनपछि भारत गएका कतिपय मजदुरहरु चोरबाटो बाट फर्कन थालेको पाइएको छ । यद्धपि प्रशासनले उनीहरुको आउजाउमा भने कडाइ गरेको छ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रमुख जिल्ला अधिकारीबाट नै आउन नदिन कडाइ गर्ने निर्देशन भएको बताउँदै भने,‘‘नेपाल आउन चाहने मजदुरले संगठनलाई सिफारिस बनाई दिनु भन्छन तर हामीले साफ इन्कार गरिदिएका छौं ।’’ मुश्किलले करिब ४० प्रतिशत चलेका उद्योगमा अहिले स्थानीय क्षेत्रकै मजदुरलाई श्रममा लगाइएको घिमिरेले दाबी गरेका छन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका अधिकांश उद्योगमा थोरै नेपाली र धेरै भारतीय मजदुर कार्यरत छन् । तीमध्ये पनि जुट र स्टिल्स उद्योगमा अधिक भारतीय मजदुर छन । र, सबैको लगत राख्न उद्योगलाई स्पष्ट निर्देशनसमेत दिइएको उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले सुनाए ।
मुख्य सीमा सिल भएपनि रातको समयमा वारि कटाउने मानिसलाई रकम दिएर आउने गरेको तथ्य समेत खुलिसकेको छ । केही दिनअघि विराटनगरको सीमाबाट मानिस लग्ने ल्याउने गिरोहका दुई जना पक्राउ परेका थिए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा अहिले उद्योग संचालन गर्न निकै कठिन भईरहेको बताउँदै भन्छन्,‘‘मजदुरको व्यवस्थापन गर्न कठिन भएको छ । यो अवस्थामा भारततिरका मानिसलाई काममा लगाउनु हुन्न बरु यतै भएकालाई श्रम गर्न दिनुपर्छ ।’’ उनले लकडाउनअघि यतै रहेका भारतीय मजदुर श्रममा फर्किएको तर उताबाट आउन दिन नहुने पक्षमा आफूहरु पनि रहेको बताए । सुनसरी–मोरङ औद्योगिक करिडोरमा साढे ४ सय उद्योग छन् । एक वर्षअघि व्यापार संघको सहयोगमा भारतीय दूताबासले विराटनगरमा मात्र २ हजार भारतीय नागरिक र मजदुरलाई परिचय पत्र वितरण गरेको थियो । दर्ताका लागि चार दिनसम्म क्याम्प चलेको थियो ।
भारतीय सुरक्षाकर्मीले नै पठाई दिन्छन्
प्रदेश १ को राजधानी विराटनगरसंग जोडिएको जोगबनी–रानी नाका सील छ । वारिपट्टि भन्सारको २ नम्बर ढाट नजिकै हतियारधारी सशस्त्र प्रहरीको निगरानी छ । नेपाली प्रहरीको टोली पनि तैनाथी अवस्थामा छ । पारि भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) र बिहार प्रहरी सेवा (बिपुसे) का जवान खटिएका छन् । तर, मंगलबार नै यही नाका नजिकैबाट १५ जना मानिस विराटनगर पसे ।
भारतीय सुरक्षाकर्मी नै उनीहरुलाई विराटनगरतर्फ छिराई दिए । सिमा सिलका बेला उताबाट मानिस आउन र यताबाट पनि जान नदिने नियम भएछि भारतीय सुरक्षाकर्मीले जबरजस्ती पठाउने गरेका छन् । सीमाबाट नेपाल पसेका एक युवाले बन्दुकको कुन्दा देखाउँदै ‘‘अपना मुलुक जाओ’’ भन्दै तर्साउने गरेको सुनाए । उनीहरु भारतको दिल्लीबाट १५ दिन पैदलै हिंडेर अनि ढुवानीका सवारीमा बसेर जोगबनी नाकासम्म आएका थिए ।
यसरी आउनेहरुमा सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरी उपमहानगरका दुई जना, धरान उपमहानगरपलिका र इनरुवा नगरपालिकाका एक एक जना थिए । समूहमा झापाको शिवसताक्षीका र कन्काइका दुई दुई, मोरङ सुन्दरहरैंचा र पथरीशनिश्चरेका एक–एक जना थिए ।
नेपाल छिरेका ती सबैलाई विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले खानापिनको व्यवस्था गरिदिए । एक युवाले भने,‘‘जोगवनी हुँदै नेपाल छिर्न खोज्ने ६० जनाभन्दा धेरै त हामीले नै देखेका थियौं ।’’ सीमाबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।