इटहरीः जिल्लामा ४९ दिन बसेर भक्तपुर पुगेकी एक नर्समा कोरोना संक्रमण पुष्टि भएपछि उनमा संक्रमण कहाँबाट भयो भन्ने स्रोत खोज्न सुनसरीका सुरक्षाकर्मीहरु जुटेका छन् ।
ती नर्स सुनसरीमा ४९ दिन बिताएर २९ वैशाखमा भक्तपुर पुगेकी थिइन् । उनि त्यहाँ पुगेको ३ दिनपछि संक्रमण पुष्टि भएको थियो । उनिसंगै डेरा बस्ने अर्की नर्सलाई पनि अस्पताल भर्ना गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सवारी पास लिएर उनि सिन्धुली हुँदै भक्तपुर पुगेकी थिइन् । सिन्धुलीमा उनको खाना खाएको होटल र त्यसको आसपास सिल गरेर स्वास्थ्य परीक्षणको कार्य अगाडी बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसीका अनुसार २५ वर्षीय युवती गत चैत्र १० गते सुनसरीस्थित रामधुनी नगरपालिका ४ लालपुर घर आएकी थिइन् । उनी कार्यरत आरोग्य अस्पतालमा बिदा लिएर उनी सुनसरी आएकी थिइन् ।
तर अस्पतालले डिउटीमा बोलाएपछि उनी छिमेकी दाईको सहयोगमा बाइक मार्फत भक्तपुर पुगेकी थिइन् । उनले भक्तपुर जानलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा आफै पुगेर पास समेत ल्याएकी थिइन् ।
अस्पतालमा डिउटी गर्न जानु अघि उनले कोरोना परीक्षण गरिन र उनको रिर्पाेट पोजेटिभ आएको थियो ।
सुनसरी प्रशासन भने सुनसरी रहँदै उनमा कोरोना सङ्क्रमण भएको निष्कर्षमा पुगेको छ । तर कहाँ कसरी भन्ने विषयमा यति बेला अन्योल देखिएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक कमल थापा सङ्क्रमित युवतीको अझै कन्ट्रयाक ट्रेसिङको काम चलिरहेको बताउँछन् । युवती सुनसरी रहँदा धेरै ठाउँ र धेरै जनासँग भेटघाट गरेको आधारमा ट्रेसिङको काम चलिरहेको बताए ।
कन्ट्रयाक ट्रेसिङकै आधारमा पहिलो चरणमा युवतीको घरमा रहेका ४ जना सदस्य, बाइकमा पुराउने व्यक्ति, छिमेकी र केही पसले गरी १९ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षणको लागी अस्पताल पठाइएको छ ।
कन्ट्याक ट्रेसिङमा खटिएका एक प्रहरी अधिकृत भन्छन् ‘सङ्क्रमित युवती झुम्का तथा स्थानीय बजार, केही आफन्त र बढी छिमेकी कहाँ गएको देखिन्छ । त्यस कारण पहिलो चरणमा आफन्त सहित १९ जनाको स्वाब परीक्षण गरिएको हो’ ।
‘युवती आफै अलमलमा छिन्, कि कहाँबाट उनी सङ्क्रमित भइन भनेर’ । लालपुर क्षेत्रमा लकडाउन अवधि भर कोही पनि शङ्कास्पद व्यक्ति न भित्रिएको पनि ती अधिकृत बताउँछन् । उनी भन्छन् ‘समुदाय स्तरमा फैलिएको कोरोनाबाट उनी सङ्क्रमित हुनसक्ने हाम्रो आशङ्का छ’ । अब सुनसरीमा पनि व्यापक रूपमा सर्वसाधारणको परीक्षण थालिनुपर्ने उनको तर्क छ ।
स्वाब परीक्षणको लागि पठाइएको १९ जना मध्ये केहीको रिर्पाेट पोजेटिभ आउने प्रबल सम्भावना रहेको ती प्रहरी अधिकृतको दाबी छ । यदि ती युवतीमा समुदाय स्तरबाट कोरोना सङ्क्रमित भएको खण्डमा कन्ट्याक ट्रेसिङको कुनै अर्थ नरहने उनको भनाई छ ।
यता प्रहरी स्रोतका अनुसार १९ जनाको स्वाब परीक्षण दोहोरो गरिँदै छ । बढी शङ्कास्पद व्यक्तिहरूको परीक्षण दोहोरो गरेपछि मात्र त्यसको फाइनल रिर्पाेट आउनेछ । सम्भवतः १९ जनाको रिर्पाेट शुक्रवार साँझ तिर आउने अनुमान गरिएको छ ।
यस्तै सुनसरी प्रशासनले सङ्क्रमित युवतीको परिवार सहित ८ घर परिवारलाई उच्च निगरानीमा राखिएको अवस्था छ । त्यस क्षेत्रमा हिँडडुल गर्न रोक लगाइएको छ ।
साथीको रिपोर्ट नेगेटिभ
कोरोना भाइरस संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुरमा रुममेट रहेकी उनको साथीको रिर्पाेट नेगेटिभ आएको हो । मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखि स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।