लहानः प्रदेश नं २ सरकारको निर्णय अनुसार सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सो अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारी थालिएको हो ।
कोरोना भाइरसको संक्रमण फैलिँदो अवस्थामा रहेकाले लहानस्थित अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने तयारी थालिएको हो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेकमा कोरोना संक्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।
सप्तरी र सिरहालगायत प्रदेश नं २ का जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको प्रदेश नं २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । प्रदेशका सबै जिल्लामा थप तीन–तीन सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको कानूनमन्त्री यादवले बताए ।
प्रदेश सरकारको निर्णयअनुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीका विषयमा आफूहरुसँग छलफलसमेत गरेको लहान अस्पतालका मेसु डा. सुनिलकुमार कुशवाहाले बताए । टोलीले कोरोना अस्पताल सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधारसहित जनशक्ति छिट्टै पठाउने र तयारी थाल्न निर्देशन दिएको मेसु डा. कुशवाहाले बताए । केही दिनभित्रमा सो अस्पताललाई कोरोना बिषेश अस्पताल निर्माण गरि संचालनमा ल्याएपछि ंसंक्रमण पुष्टि भएकाले उपचार गराईने छ ।