विराटचोकः विराटचोकमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरमा कीरा परेको प्याकेजिङ च्याउ भेटिएपछि ५० हजार जरिवाना गरिएको छ ।
त्यस्तै, प्याकेजिङ इजाजत नभेटिएकाले र मिति उल्लेख नगरेका खाद्यवस्तु फेला परेकाले ५० हजार जरिवाना गरिएको छ । गोर्खा डिपार्टमेन्ट स्टोरले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ट को कसुर तथा दफा २० को उपदफा १ र २ बमोजिम कार्य नगरेको पाइएको बताइएको छ । प्याकेजिङ इजाजत नलिएकाले सोही ऐनको दफा ३९ १ ख बमोजिम जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बताए ।
गोरखासंगै खाद्यान्न बिक्री गर्ने ४ ओटा पसलको शुक्रबार अनुगमन गरिएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, औषधी व्यवस्था कार्यालय विराटनगर, सुन्दरहरैंचा नगरपालिका र स्थानीय प्रशासनसहितको टोलीले बजार अनुगमन गरेको हो ।
यस्तै, जुनतारा बजारमा पनि म्याद गुज्रिएको वस्तु पाइएकाले १० हजार जरिवाना गरिएको छ । यस्तै सगुन किराना पसलमा भने सन्तोषजनक पाइएको बताइएको छ ।
उता, आरटी सप्लायर्समा समेत म्याद नाघेका खाद्य सामग्री भेटिएकाले १० हजार जरिवाना गरिएको बताइएको छ ।
अनुगमनका क्रममा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बिक्रेता नै पहिले गम्भीर हुनुपर्ने बताइन् । आफ्नो पसलको सामानको म्याद गुज्रिएका वस्तुलाई स्टोरमा राख्नुपर्ने तथा उपभोग्य मिति सकिएका खाद्यवस्तु बिक्री गर्न नहुने उनले सुझाव दिइन् ।