इटहरीः कोरोना भाइरस संक्रमण देखिएका उदयपुरका पत्रकारको समाचार संकलनको क्रममा जिल्लाका उच्च तहका सरकारी कर्मचारी देखि लिएर प्रदेश नम्बर १ का मुख्यमन्त्रीसम्म भेटघाट भएको खुल्न आएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा कोरोना संक्रमण फैलिएपछि त्रियुगा नगरपालिका निवासी २५ बर्षीय पत्रकार टेलिभिजनमा सक्रिय पत्रकारिता गर्दै आएका थिए । कोरोना संक्रमण फैलिएपछि समाचार संकलनमा बढी सक्रिय भएका उनले दुई दिनअघि मात्रै जिल्ला समन्वय समिति उदयपुरका प्रमुखसंग अन्तरर्वाता लिएका थिए ।
भोजपुरको हतुवागढीमा कोरोना संक्रमण देखिएपछि अनुगमन र त्यहाँको बस्तु स्थिती बुझ्नका लागि सेनाको हेलिकप्टरमार्फत हतुवागढी हुँदै भुल्के पुगेका प्रदेश नम्बर १ का मुख्यमन्त्रीसंगपनि संक्रमण पुष्टि भएका पत्रकारले आफ्नो टेलिभिजनका लागि प्रतिक्रिया लिएका थिए । मुख्यमन्त्रीको अनुगमनका क्रममा नजिक नजिक भएरै उनले टेलिभिजनका लागि भिडियोहरु कैद गरेका थिए । मुख्यमन्त्रीसंग प्रदेशका गृह तथा कानून मन्त्री हिक्मत कार्की, समाजिक विकास मन्त्री जीवन घिमिरे, उदयपुरबाट प्रदेशसभाका लागि चुनिएका सांसदहरु, सुरक्षा निकायका अधिकारीहरु, उदयपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख नेपाली सेनाका इटहरी स्थित पूर्वी पृतनापति, त्रियुगा नगरपालिकाका मेयर उपमेयर लगायतको सो अनुगमन कार्यक्रममा सहभागीता रहेको थियो ।
उदयपुरमा अत्यन्तै जोखिमपुर्ण रिपोर्टिङमा निकै क्रियाशील उनले हालै उदयपुरमा आएको नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र प्रदेश पत्रकारको टोलीसंग पनि निकट भएर छलफल गरेका थिए । उनले आफ्नो जिम्मेवारी पूरा गर्ने शिलशिलामा सहकर्मीसाथीहरु, अन्य सर्वसाधारणहरुलाई समेत भेट गरेका थिए । थप संक्रमण हुन नदिन पत्रकारको नजिक भएका प्रदेश नम्बर १ का मुख्यमन्त्री, मन्त्रीहरु, जिल्लाका जिम्मेवार सरकारी अधिकारीहरु, स्वास्थ्य कार्यालयका पदाधिकारीहरु , मुख्यमन्त्री तथा मन्त्रीका सचिवालयका पदाधिकारीहरु उनका परिवारका सदस्यहरु लगायतलाई परीक्षणको दायरामा ल्याउनु पर्ने अवस्था सृजना भएको छ ।