धरान : नेकपाका स्थायी समिति सदस्य भीम रावलले नेपाल भारतबीच रहेको सीमा विवाद अन्त्यका लागि पहल गर्न नेपाल सरकारलाई कसैले रोक्न नसक्ने धारणा राखेका छन् ।
आज भएको भर्चुअल छलफलमा उनले यस्तो विचार राखेका हुन् । देशभरिका विभिन्न क्षेत्रबाट प्राध्यापक, शिक्षक, विद्यार्थी र पत्रकारहरू सहभागी छलफलमा नेता रावलले आफ्नो भूमिलाई सुरक्षित राख्न नेपालसँग अकाट्य प्रमाण उपलब्ध भए पनि सरकारमा दृढ इच्छाशक्ति नहुँदा भारतसँग कुरा राख्न नसकेको टिप्पणी गरे ।
पद गुम्ला कि कसैले भारतविरोधी भन्ला कि भन्ने डरले नेताहरू बोल्दैनन् । उनले भने नभए नेपाल सरकारलाई कसैले रोक्न सक्दैन । राष्ट्रवादी नेताको छवि बनाएका नेता रावलले अहिले स्थिर सरकार भएको बेला सीमा विवाद समाधान गर्न अझ सहज हुने धारणा राखे ।
दुवैतिर (नेपाल र भारत) बलियो सरकार भएको यो बेला नेपाल सरकार भारतसमक्ष आफ्ना प्रमाण राख्दै बलियो ढङ्गले प्रस्तुत हुनुपर्ने उनको सुझाव छ । पहिले द्विपक्षीय वार्तालाई प्राथमिकता दिनुपर्छ, नेता रावलले थपे, त्यति गर्दा पनि हाम्रो भूमि छाड्न भारत तयार हुँदैन भने अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने विकल्पलाई खुल्ला राख्नुपर्छ ।
उनले यस विषयमा प्रधानमन्त्री संवेदनशील हुनुपर्ने र आफ्नो अडान प्रष्ट रूपमा राख्नुपर्ने औल्याए । पछिल्लो समय लिपुलेकमा नेपाली भूभाग मिचेर भारतले मानसरोवर जाने सडक निर्माण गरेको विषय सार्वजनिक भएको छ र जनस्तरबाट यसको व्यापक विरोध भइरहेको छ ।
यसै सन्दर्भमा सीमा विवाद र समाधानका उपायहरू विषयमा धरानका सक्रिय युवा सुरेन्द्र घिमिरेको अग्रसरतामा भर्चुअल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रारम्भमा घिमिरेले सहभागी सबैलाई स्वागत गर्दै नेता रावललाई समय दिएका थिए । उनले विषय प्रवेश गराएपछि सहभागीहरूले उनलालाई जिज्ञासा राखेका थिए । त्यसपछि उनले जिज्ञासाको जवाफ दिएका थिए