विराटनगरः भारतबाट नेपाल भित्रने संभावित मानिसलाई राख्ने तयार गर्न लागिएको क्वारेन्टाइनस्थल बस्तीबाट टाढा राख्न भन्दै विराटनगर १३ बासिन्दाले संघर्षमा उत्रिएका छन् । विराटनगर महानगरपालिकालाई पत्राचार गरी विराटनगर १३ कोशी प्रोजेक्ट क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन ।
महानगरसंगको समन्वयमा प्रदेश १ सरकारले स्थानीय डिएभी स्कुलमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरेको हो । तर, स्थानीयले भने अवरोध र विरोध गरेका छन् । स्थानीय टोलबारीले विराटनगर महानगरपालिकाको नाममा पठाएको ज्ञापन पत्रमा बसोबास स्थलबाट टाढा क्वारेन्टाइनको व्यवस्थापन गर्न भनिएको छ । संभावित संक्रमितलाई बस्तीमाझमा रहेको स्थानको क्वारेन्टाइनमा राख्दा स्थानीयलाई असर पुग्ने पत्रमा उल्लेख छ ।
डिएभी स्कुलसंगै घर रहेका स्थानीय सुशील कुमार झाले भने,‘‘हामीले बस्ती भन्दा पर राख्नुपर्ने हाम्रो माग छ ।’’ झाले कोशी अस्पतालको विस्तारित कोशी कोभिड उपचार केन्द्र पनि आफूहरुकै वार्डमा रहेकोले थप क्वारेन्टाइन राखे जनमानसमा मानसिक तनाव थपिने उनले बताए । झाका अनुसार स्थानीयले भारतबाट ल्याइने मानिसलाई स्वास्थ्य परीक्षण नगरी क्वारेन्टानइन स्थलमा लैजाँदा वस्तीमा जोखिमको संक्रमण बढ्ने भन्दै विरोध गरेका हुन ।
क्वारेन्टाइन स्थलको अवलोकन र निरीक्षण गर्न पुगेको प्रहरीको टोली समक्ष पनि स्थानीयले असन्तुष्टि जनाएका छन् । भारतमा रेलसमेत संचालनमा आएपछि प्रदेश सरकारले उताबाट आउन सक्ने नेपालीलाई सीमाक्षेत्रकै क्वारेन्टाइनमा राख्ने तयारी थालेको छ ।
विराटनगरको रानी क्षेत्रमा निर्माण सुरक्षाकर्मीले डिएभी स्कुलको कम्पाउन्ड निरीक्षण गर्न गएका बेला स्थानीयले आपत्ती समेत जनाएका छन् । उनीहरुले हस्ताक्षर गरी विराटनगर महानगरलाई ज्ञापन पत्र दिएका छन् । झाका अनुसार प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्रीसंग यस विषयमा कुराकानी भएको बताए । भने,‘‘अरु खाली क्याम्पसका भवन प्रयोग गर्न हामीले सझुाव दिएका छौ ।’’
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले दुई दिनअघि स्वास्थ्यकर्मीसंग गरेको छलफलमा यो प्रदेशमा १० हजार जति मानिसहरु आउनसक्ने अनुमान गरिएको बताएका थिए । उनले दश दिनको अवधिमा दश हजार मानिसको परीक्षण गर्ने तयारी रहेको बताएका छन् । सरकारले क्याम्पस र कलेजका भवनलाई भारतबाट आउनेलई राख्ने होल्डिङ सेन्टरका रुपमा तयार गर्ने योजना बनाएको छ ।