इटहरीः आज बिहान कोभिड १९ पुष्टि भएका रौतहटका दशजना पाँच दिनअघि भारतको महाराष्ट्रका विभिन्न शहरबाट नेपाल आएको खुलासा भएको छ ।
लकडाउनकै समयमा सीमा क्षेत्रमा उनिहरु आएका थिए। उनीहरू दशजना नै मुम्बई, गुजरात लगायतका शहरबाट आएको खुलेको रौतहटको राजपुर नगरपालिकाका मेयर मोहमद सकिल अख्तले जानकारी दिएका छन् ।
सीमामै उनीहरूको थ्रोट स्वाब नमूना संकलन गरी काठमाडौं परीक्षणको लागि ल्याइएको थियो। उनिहरुलाई सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको मेयर अख्तले बताए ।
मेयर सकिलका अनुसार नाकाबाट सोझै उनीहरूलाई रौतहटको इशानाथ, परोहा र राजपुरमा रहेको क्वारेन्टाइनमा राखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा ९ का सातजना र इशनाथ नगरपालिका ३ र ५ का तीनजनामा कोभिड(१९ पुष्टि भएको हो।
यो सहित रौतहटमा संक्रमितको संख्या १३ पुगेको छ। यसअघि तीनजना संक्रमित पुष्टि भइसकेका छन्। ती मध्ये एकजना निको भएर घर फर्किसकेका छन्।
आज बिहान सवा ७ बजे अद्यावधिक गरिएको विवरण अनुसार राजपुर नगरपालिका फरहदवा(९ का १८, ३२, ३६, ३९ (दुईजना) ४२, ४८ वर्षका पुरुष छन्। रौतहटकै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा पनि संक्रमण पाइएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको नतिजा पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। कोरोना संक्रमणबाट हिजो सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको छ। उनको हिजो साँझ पशुपति आर्यघाटमा कार्यविधि अनुसार सावधानी अपनाएर दाहसंस्कार गरिसकिएको छ । कोभिड–१९ बाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्। नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ। अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।