इटहरीः बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २४ बर्षीय एक युवकको आज बिहान मृत्यु भएको छ । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन् । नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लागेको थियो ।उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् । मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

सो क्वारेन्टाइनमा ८ जना संक्रमित रहेको बुझिएको छ । ती युवकको स्वाब परीक्षणका लागि शनिबार संकलन गरि परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको थियो । उनको स्वाब रिपोर्ट अझैँ आउन बाँकी छ। स्वाब परीक्षण रिपोर्ट नआउँदै मृत्युको कारण खुल्न नसक्ने बताइएको छ । क्वारेन्टाइनमा रहेका युवकको एक्कासी मृत्यु भएपछि नेपालगन्जबाट स्वास्थ्यकर्मी सहितको सुरक्षाकर्मी र सरोकारवाला निकायको टोली त्यसतर्फ गएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। युवकको मृत्युको जानकारीपछि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पठाइसकिएको प्रजिअ खड्काले जानकारी दिएका छन् । उनको मृत्युपछि स्थानीयबासिन्दा त्रसिद भएका छन् ।