इटहरीः औषधिको डिलर संचालन गर्दै आएका इटहरीका एक व्यवसायीको गएराती घरमै मृत्यु भएको छ । विराटनगर महानगरपालिका १० मधुमाराको देवी माँ पाथीभरा फर्माका संञ्चालक इटहरी उपमहानगरपालिका १२ खनार ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु भएको हो ।

उनी सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएपछि उपचारकालागी कोसी अञ्चल अस्पताल पुर्याइएकोमा उनलाई उपचार गर्नु अगाडी नै अस्पतालले मृत घोषित गरेको छ । मृतक दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले उनको कसैले हत्या गरेको आशंका उत्पन्न भएको छ । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका भएकाले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

औषधि व्यवसायी धनबहादुर काफ्ले, उनकी श्रीमती मीना श्रेष्ठ दुलाल र छिमेकी कल्याण राजवंशीले मृतक दुलाललाइ विहान ३ बजे अस्पताल ल्याएका थिए । मृतकको शवको अवस्था हेरी डाक्टरले मृत्यु अस्वभाविक प्रतिक्रिया दिएपछि प्रहरीले श्रीमती मीना, औषधि व्यवसायी काफ्ले र हरिमोहन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । मृतकको घाँटीमा डोरीले कसेको डामका साथै शरीरका विभिन्न भागमा आक्रमण गरे जस्तो देखिने शंकास्पद चोटहरु रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । मृतक सुतेको ओछ्यानमा समेत रगत लतपतिको भेटिएकाले उनको हत्या नै भएको हुन सक्ने भएकाले आवश्यक अनुसन्धान थालिएको राईले जनाए ।