इटहरीः भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका १ युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । २ जेठ गते राति रतुवामाई नगरपालिका–१ सोनापुर नाकास्थित मकैबारीबाट लुकीछिपि नेपाल प्रवेश गरेका २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको घर र भारतको दशगजा क्षेत्रको फरक २ सय मिटर मात्रै भएकाले उनी भारतबाट भागेर राति २ बजे आएका थिए । त्यस लगत्तै उनलाई ३ गते बिहान नगरपालिकाले स्थापना गरेको हेल्थ डेक्समा (आरडीटी) परीक्षण गर्दा पोजिटिभ देखिएपछि स्वाव संकलन गरि पीसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएको रतुवामाई नगरपालिकाका नगरप्रमुख रवीन राईले जानकारी दिए ।