इटहरीः सुनसरीका कोरोना संक्रमित युवासगैं अन्य ८ जना पनि भारतबाट सगैं आएको खुलेको छ ।

८ मध्ये सुनसरी गढी गाउँपालिकाका ५ जना, धरानका एक जना, इनरुवा एक जना र मोरङ सुन्दरहरैंचा नगरपालिकाका एक रहेको गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए ।

गत बैशाख ३० गते नेपाल र भारतको सिमाना जोगबनीमा अलपत्र परेको भन्दै आफ्ना गाँउपालिकाका ५ जनाले फोन गरेको अध्यक्ष यादवले बताए । फोन आएपछि गाउँपालिका अध्यक्ष यादव आफै एम्बुलेन्स लिएर जोगवनी पुगि उनीहरुलाई लिएर आएका थिए । संक्रमित युवासगैं आएका आठै जना दुई दिनसम्म गढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

पछि सोधखोज गर्ने क्रममा अन्य तिन जना अन्य ठाउँको खुलेको यादवले बताए । अन्य ठाउँका ३ जना तेस्रो दिन धरान, इनरुवा, पथरी गएको अध्यक्ष यादवले बताए । गढी गाउँपालिकामा आएका ५ जनाको कोरोना रिपोर्ट टेष्ट गर्दा ४ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ आएको हो ।

ति अन्य ठाउँका तीन युवालाई खोजी गरी कोरोना संक्रमित भए नभएको र तिनिहरुको अबस्था बुझ्नका लागि सम्बन्धित पालिकाका प्रमुखलाई जानकारी गराएको गढी गाउँपालिका अध्यक्ष यादवको भनाई छ । सुनसरीका संक्रमित युवाको घर भएको वडा नम्बर १ लाई बिहानै बाट सिल गरी सुरक्षा ब्यबस्था कडा बनाइएको छ । सो वडा इटहरी उपमहानगरपालिका वडा नम्बर १२ संग सिमा जोडिएको वडा हो । साविक मधेलीमा पर्ने बताइएको छ । संक्रमित युवालाई गए राती नै विराटनगर कोशी अस्पताल पठाइएको समेत अध्यक्ष यादवले जानकारी दिए ।