इटहरी : इटहरी २ बस्दै आएका १८ वर्षीय कोरोना संक्रमित युवाको स्थायी घर खोटाङ भएको खुलेको छ ।

उनी इटहरीको २ नम्बर वडामा कोठा भाडामा लिएर बस्दै आएका छन् । उनि धरानको एक क्याम्पसमा कक्षा १२ मा पढ्दै आएका छन् । लकडाउन भएको समय देखि उनी कलेज बन्द भएकाले कोठामै बिगत दुई महिना अगाडी देखि एक्लै बस्दै आएका छन् ।

उनी एक्लै बसेपनि वरपर आफन्तको घर भएकाले वल्लोपल्लो घर आउजाउ गरिरहन्थे । उनका एक जना साथीले सुसाइट गरेकाले उनि केही समय अगाडी उनको मलामीका लागि धरान समेत गएका थिए । त्यसको केही दिन पछी उनले कोठाका वरपर रहेका आफन्तलाई छाती दुःख थालेको भन्दै सुनाएका थिए ।
बिसञ्चो भएपछि उनलाई तरहराको एक क्लिनिकमा आफन्तले चेक गर्न लगेका थिए । त्यस क्लिनिकले ग्याष्टिक भन्दै केही औषधी समेत दिएको आफन्तहरुले जानकारी दिएका छन् ।

सो क्लिनिकले दिएको औषधी खाएपछि दुखाई केही कम नभएकाले नाताले मामा पर्नेका छोराले उनलाई मोटरसाईलकमा राखेर सोमबार (हिजो) बिहान १० बजे तिर इटहरीको मुख्यचौंकबाट पश्चिमतर्फ रहेको एक मेडिकलमा लगेका थिए । त्यहाँका स्वास्थ्यकर्मीहरुले उनको छातीको एक्सरे गर्दा टिविको लक्षण देखिएकाले उनलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जान सल्लाह दिएका थिए ।

ती युवकलाई सो क्लिनिकमै हुँदा हुँदै थप समस्या आएको थियो । त्यसपछि उनका मामाले त्यहीबाट धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लिएर गएका थिए । उनका हलका ज्वरो समेत आएकाले वीपीका डाक्टहरुले स्वाब परीक्षणका लागि संकलन गरि ल्याबमा हालेका थिए । उनको रिर्पोट पोजेटिभ आएपछि उनलाई कोरोना संक्रमण भएको प्रतिष्ठानले पुष्टि गरेको थियो ।
उनलाई कोरोना पुष्टि भएको जानकारी मंगलवार बिहान दिएको थियो । त्यस लगत्तै उनी सँगै रहेका मामा र उनलाई कोभिड १९ अस्पताल विराटनगर लगिएको छ । कोठामा एक्लै बस्दै आएका उनलाई कहाँबाट कसरी कोरोना संक्रमण भएको हो? स्रोत पत्ता लगाउन यतिबेला सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीहरुलाई सकस भएको छ । स्थानीयमा भने त्रास सृजना भएको छ ।