इटहरीः गढी गाँउपालिकामा सोमबार सङ्क्रमण पुष्टि भएका युवक सोही गाउँपालिका वडा नम्बर १ का हुन् । उनी ३० बैशाखमा भारतको जोगवनी नाकाबाट नेपाल आएका थिए । उनी सहित १५ जना नेपालीलाई भारतीय एसएसबीले जोगवनी नाकाको चोर बाटोबाट नेपाल छिराएका थियो । त्यस मध्ये सुनसरी ठेगाना भएका ९ जनालाई आआफ्नो गाउँपालिकाको क्वारेनटाइनमा राखिएको थियो । सुनसरीका ९ जना मध्ये ५ जना गढीका थिए । र ती मध्ये १९ वर्षीय युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
कन्ट्याक ट्रेसिङमा खटिएका प्रहरीका अनुसार गढीका युवक जोगवनीबाट सिधै गढी गाउँपालिकाको क्वारेनटाइनमा राखिएको कारण उनिबाट अन्यमा सङ्क्रमण फैलिन नपाएको बताइएको छ । उनी सहित अन्य ४ जनाको रिर्पाेट भने नेगेटिभ आएको छ । यी युवक भारतको दिल्लीबाट विहार हुँदै ११ दिनको पैदल यात्राबाट सुनसरी आएका थिए । उनी भारतमै सङ्क्रमित भएको अनुमान प्रहरीले गरेको छ ।
मङ्गलवार इटहरीमा सङ्क्रमण पुष्टि भएका अर्काे युवकको घर इटहरी २ हो । १८ वर्षका ती युवक आफ्नै घरमा एक्लै बस्दै आएका छन् । बुवा आमा खोटाङमा बस्ने गरेका कारण मामाको घर समेत नजिक भएका उनी एक्लै बस्दै आएका थिए ।
१५ दिनदेखि सामान्य ज्वरो र छाती दुखेपछि मामाले उनलाई आइतबार दिउँसो चेक जाँचको लागि विपी प्रतिष्ठान धरान लगेका थिए । उनको सोमबार राती स्वाब सङ्कलन गरिएको थियो । उनमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि इटहरी २ र ३ नम्बर वडा सिल गरिएको छ । ती युवक ब्रिटिस लाहुरेको लागि तयारी गरिरहेका थिए । धरानको एक ट्रेनिङ सेन्टरको होस्टेलमा बस्ने गरेका ती युवक लकडाउन जारी हुन साथ घर आएको इटहरी प्रहरीको भनाई छ ।
कन्ट्याक ट्रेसिङबाट सङ्क्रमित युवासँग छिमेकी एक साथी घरमा आउजाउ र सुत्न जाने आउने गरेको देखिएको छ । ती साथीको घरमा पनि यी युवक कहिले काहीँ सुत्न जाने र खाना समेत खाने गरेको देखिएको छ । सङ्क्रमित युवासँग बढी हेलमेल भएको परिवारलाई उच्च निगरानीमा राखिएको छ । उनीहरूको पनि स्वास्थ्य परीक्षण गरिने प्रहरीले जनाएको छ । यी युवकबाट गरिएको कन्ट्याक ट्रेसिङबाट १९ जनाको सम्भावित सङ्क्रमण हुन सक्नेहरुको पहिचान गरिएको इटहरी अस्पतालले जनाएको छ ।
विपी प्रतिष्ठान जानु अघि यी युवक इटहरी अस्पतालमा छाती दुखाइको लागि जाँच गराउन पुगेका थिए । इटहरी अस्पताललेनै उनलाई विपी जान सुझाव दिइएको बुझिएको छ । उनि बैशाख ३१ गते अस्पताल पुगेका थिए । कन्ट्याक ट्रेसिङमा खटिएका प्रहरीका अनुसार यी युवक इटहरी अस्पताल बाहेक इटहरीका अन्य केही मेडिकलमा समेत गएको पाइएको छ । उनिसगै गएका मामालाई आइसोलेसन वार्डमा राखेर स्वास्थ्य परीक्षण गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उता कोसी टप्पु वन्य जन्तु आरक्षमा कार्यरत सशस्त्र प्रहरी सहायक हवलदार आइतबार सँगै कार्यरत साथीको टेस्ट गर्न विपी प्रतिष्ठान धरान पुगेका थिए । दुवै जनाले स्वाब परीक्षण गर्दा साथीमा नेगेटिभ देखियो भने उनमा पोजेटिभ पुष्टि भएको सुनसरी प्रहरीले जनाएको छ । सङ्क्रमण पुष्टि भएका हवलदारको घर मोरङ हो । लकडाउन सुरु भएयता उनी घर भने गएका छैनन् । उनको डिउटी कोसी आरक्ष भित्र हो । सशस्त्र प्रहरी बसेको ठाउँ भने बराहक्षेत्र नगरपालिकाको ११ नम्बरमा पर्छ ।
लकडाउन यता कोसी नदी हुँदै विभिन्न जिल्लाबाट आएका मजदुरहरूलाई उनी कार्यरत २२ जनाको टोलीले धेरै पटक नियन्त्रणमा लिएको बताइएको छ । राजमार्गमा सवारी साधन रोक लगाएपछि सुनसरीको दक्षिणवर्ती क्षेत्र पुग्नलाई कोसी किनारको बाटो धेरैले प्रयोग गर्ने गरेका छन् । नियन्त्रणमा लिएका कोहीबाट उनी सङ्क्रमित भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनमा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै २२ जनाको सशस्त्र प्रहरीको टोली उच्च जोखिममा छ । उनीहरूको पनि परीक्षण गर्ने तयारी भइरहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । सुनसरीमा सङ्क्रमितको सङ्ख्या बढेको बताउँदै थापाले जिल्लामा लकडाउन अझ कडा बनाउने प्रतिक्रिया दिए ।