इटहरीः धनकुटामा ५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरे सहितको विराटनगरबाट धनकुटा गएको स्वास्थ्य प्राविधिक टोलीले जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी र उनिहरुका परिवारको गरि ८३ जनाको स्वाब संकलन गरि ल्याएको थियो ।
८३ स्वाब मध्ये ६७ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमणको स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरिसकेको छैन् । संक्रमित हुनेहरुमा जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी र उनका घरका आफन्तहरु रहेको धनकुटाबाट प्रदेशसभामा सहभागी सांसद कुशुम श्रेष्ठले जानकारी दिइन् । १६ जनाको स्वाब परीक्षण हुन बाँकी नै छ ।
अस्पताल स्रोतका अनुसार संक्रमित मध्ये ३ स्वास्थ्यकर्मी, १ सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका श्रीमान् भएको बुझिएको छ । समाजिक विकास मन्त्री घिमिरेसंगै श्रेष्ठ सहित धनकुटाबाट प्रदेशसभामा सहभागी सांसदहरुको समेत स्वाब संकलन कार्यमा सहभागीता रहेको थियो । यसअघि सोही अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएपछि थप स्वास्थ्यकर्मी , कर्मचारी र आफन्तको स्वाब संकलन गरिएको थियो । थप ५ जनामा संक्रमण पुष्टि भएपछि अस्पताल पुरै सिल गरिएको छ । सांसद श्रेष्ठले अब धनकुटामा तत्कालै पीसीआर टेष्टको दायरा बढाउनु पर्ने बताएकी छन् ।