इटहरीः जिल्ला प्रहरी कार्यालय मोरङलाई विराटनगर ११ स्थित न्यू.डी.एन ट्रेडर्समा नक्कली मदिरा बेच्ने गरेको ‘टिप्स’ सूचना आउँछ । लकडाउनको कहरमा सबै पसल बन्द भएको अवस्थामा यस्तो सूचना प्राप्त हुन साथ मोरङका एसपी विश्व अधिकारीले सो पसलको निगरानी बढाउन प्रहरी खटाउँछन् ।

पसलका सञ्चालकलाई रगेहात पक्राउ गर्न त्यस एरियाको प्रहरी चौकी बखरीलाई निर्देशन दिन्छन् । बखरी प्रहरी चौकीका इन्चार्ज सई गणेश कार्कीको टिम पसल आसपास परिचालित हुन्छ ।

नभन्दै निगरानीमा रहेको न्यू.डी.एन ट्रेडर्सको पछाडिको भागबाट एक व्यक्ति झोलामा सामान बोकेर बाहिरी निस्कँदै गरेको भेटिन्छन् । कार्कीको सिभिल टोलीले तत्कालै ती व्यक्तिलाई नियन्त्रणमा लिन्छ । व्यक्तिको साथमा रहेको झोला खोतल्दा केही मदिराका खाली बोतल बरामद हुन्छ ।

सेवन गरिसकेका खाली बोतल किन बोकेको भन्दै ती व्यक्तिलाई कार्कीले प्रश्न गर्छन् । ‘घरमा सजाउनको लागि लगेको’ भन्ने उनको जवाफ आउँछ ।

जवाफ दिने व्यक्ति अरू कोही नभई न्यू.डी.एन ट्रेडर्सका सञ्चालक श्रवण मुखिया हुन्छन् । अपडेटमा बसेका एसपी अधिकारीको टोली मुखिया प्रहरी नियन्त्रणमा आउन साथ पसलमै पुग्छ ।

प्राप्त भएको टिप्सको भेरिफाई गर्न एसपी आफै खटिएपछि बन्द न्यू.डी.एन ट्रेडर्सको पछाडिको भाग गोदाममा छापा मारिन्छ । नभन्दै बन्द कोठा भित्र यत्रतत्र छरिएका विभिन्न ब्रान्डका मदिराका खाली र तयार भइसकेका बोतल काटनका काटन भेटिन्छन् ।
कोठाको थप खानतलासी गर्दा आन्तरिक राजस्व कार्यालयको नक्कली अन्तःशुल्क स्टिकर, विभिन्न कम्पनीको लेवलिङ पेपर, बियर र वाइनका बोतल समेत बरामद हुन्छ ।

अन्ततः एसपी अधिकारीलाई आएको टिप्स सही साबित हुन्छ ।

बरामद स्थलको प्रकृति हेर्दा मुखियाले पछाडिको भाग गोदामसँगै नक्कली रक्सी बनाउने मिनी उघोग बनाइएको हुन्छ ।त्यसपछि मुख्य पसल खोलेर हेर्दा बेच्न राखिएका सबै नक्कली मदिरा एकै ठाउँमा बरामद हुन्छ ।

प्रहरी नियन्त्रणमा रहेका सञ्चालक मुखिया रातोपिरो हुन्छन् र नक्कली मदिरा बनाउने गरेको स्विाकार्छन । त्यसपछि मुखिया आफै नक्कली मदिरा बनाउने आइडियाको प्रहरी अगाडी बेलिबिस्तार लगाउँछन् ।

‘एक वर्ष अघिदेखि पसल सञ्चालन गरेको हु । ऋणबाट उक्सिन यस्तो उपाय लगाए । लकडाउनमा पनि खोलिरहेको छु । ग्राहक आउँछन्, खरिद गरेर लैजान्छन् । मिसाउने पदार्थ बजारबाटै ल्याउँछु । केही रक्सी अन्य पसलमा पनि सप्लाई गर्छु सर’ ।

nakali madira 2

नक्कली अन्तःशुल्क स्टिकर
प्रहरीका अनुसार मुखिया आफैले फुर्सदको समयमा घर र गोदाममा नक्कली मदिरा बनाउने गरेका थिए । उनले लोकल बजारमा पाउने कम गुणस्तरको मदिरामा स्प्रीट प्रयोग गर्ने र चलेका ब्रान्डको खाली बोतलमा नक्कली लेवलिङ गरी अन्य मदिरा हालेर बेच्ने गरेका थिए ।

बिक्री गर्दा ग्राहकले चाल नपाओस् भनेर उनले नक्कली अन्तःशुल्क स्टिकर समेत टाँसेर कम्पनीकै झैँ दुरुस्त बोतल बनाउने गरेका छन् ।

प्रहरीले उनको अवैध गोदामबाट सबैभन्दा बढी सिग्नेचर नाम गरेको मदिराको बोतल बरामद गरेको छ । जुन नेपाली बजारमा चलेको ब्रान्ड हो । सिग्नेचरको बोतलमा उनले बजारमा पाइने लोकल स्प्रीट र अन्य सस्तो मदिरा मिसावट गर्ने गरेका छन् । त्यस्तै गोल्डेन ओक नाम गरेको मदिरामा पनि मुखियाले मिसावट गरेका छन् ।

मोरङका एसपी विश्व अधिकारीले ६० रुपैयाँ पर्ने मदिरालाई मिसावट गरेर ३५० मा बिक्री गर्ने गरेको जानकारी दिए ।

‘मिसावटयुक्त मदिरा मानव स्वास्थ्यको लागि अत्यन्त घातक हुन्छ’ उनले भने ‘यस्तै रक्सी सेवनबाट विश्वमा धेरैले ज्यान गुमाएका छन्’ । यसले राजस्व छली गरेको समेत देखिन्छ ।
विराटनगर महानगरपालिका वडा नं.६ बस्ने मुखियाले विराटनगर महानगरपालिका वडा नं.११ स्थित बसपार्कको उत्तर पट्टी रहेको योजित प्रधानको घरमा कोठा भाडा लिएर यस्तो धन्दा गरेको एसपी अधिकारीले बताए ।

उनको घरबाट पनि केही काटुन् मिसावट मदिरा बरामद गरिएको छ । प्रहरीले उनको घर र पसलबाट विभिन्न ब्रान्डका ५३० नक्कली मदिरा र खाली बोतल बरामद गर्न सफल भएको छ । मुखियालाई भने थप अनुसन्धानको लागी आन्तरिक राजस्वको कार्यालय पठाइएको जनाइएको छ ।