भद्रपुरः नगर विपद व्यवस्थापन समिति भद्रपुरले कडाइपूर्वक लक डाउनको पालना गर्ने गराउने निर्णय गरेको छ । बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भद्रपुरसँग सीमा जोडिएको कचनकवल गाउँपालिका ‘कोरोनाको केन्द्रबिन्दु’ बन्दै गएपछि भद्रपुर नगरपालिकाले नगरभित्र उच्च सतर्कताको खाँचो औँल्याएको छ । कचनकवलमा बुधवाररातिसम्म २५ जनामा कोेरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
बैठकले नगरपालिकाको सीमा क्षेत्र, वडा सीमा क्षेत्र वा टोल विकास संस्थाको सीमा क्षेत्रलाई आवश्यकता अनुसार वन्द गरी आवागमनलाई नियन्त्रण गर्ने निर्णय गरेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
‘अति आवश्यक कामको लागि आवतजावत गर्नु परेमा सम्वन्धित वडा अध्यक्षले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ’, उनले भने, ‘आजदेखि कचनकवलको सीमा चाहिँ बन्द हुन्छ ।’
नगर विपद व्यवस्थापन समितिले नगरपालिकाको आन्तरिक स्रोतवाट सञ्चालन हुने योजना तथा कार्यक्रमको नयाँ सम्झौता तथा कार्यादेश दिने कार्य वन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख श्रेष्ठले वडा तथा नगरस्तरमा सञ्चालितमध्ये प्राविधिक दृष्टिले रोक्न मिल्ने योजनाको निर्माण स्थगन गर्ने निर्णय भएको बताए ।
‘नगरपालिकाको आन्तरिक स्रोतवाट व्यहोर्ने गरी सञ्चालित पूर्वाधारका योजना र सम्झौता हुन बाँकी योजनाहरु आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने निर्णय भएको छ’, नगर प्रमुख श्रेष्ठले भने, ‘संघीय र प्रदेश सरकारबाट विनियोजित वजेटका योजना नियमित सञ्चालन हुनेछन् ।’
चिया वगान, कारखाना र इँटाभट्टामा कार्यरत मजदुरको स्वास्थ्य परीक्षण तथा निगरानी राख्ने बैठकले निर्णय गरेको छ । सीमा नाकावाट अनाधिकृत प्रवेश गर्ने व्यक्ति तथा टोल वस्तीमा आएका शंकास्पद व्यक्तिमाथि विशेष निगरानी राखिने नगर प्रमुख श्रेष्ठले बताए ।
वैदेशिक रोजगारीमा रहेका र फर्किन चाहने वा फर्किएका व्यक्तिको अभिलेख संकलन गरी अध्यावधिक गर्ने तयारी छ । बैठकले नगरपालिका क्षेत्रमा रहेको क्वारेन्टिनमा रहेका व्यक्तिको विवरण अध्यावधिक गरी नियमित रुपमा प्रतिवेदन तयार गर्न आन्तरिक लेखा परीक्षक डिल्लीराज ढकाल र रोजगार संयोजक टीकाराम पाण्डेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
नगरपालिकाको कार्यालय प्रत्येक दिन विहान १० वजेदेखि २ वजेसम्म खुल्ला राख्ने निर्णय भएको नगर प्रमुख श्रेष्ठले बताए । ‘वडा कार्यलयहरु आइतवार, मंगलवार, विहिवार र शुक्रवार खुल्ला रहने छन’, उनले भने । विवेचनाबाट