इटहरीः बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मधुवनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले भारत र नेपालको बिभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नगरवासीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । हिजो(बिहिबार) बसेको नगर कार्यपालिका बैंठकले सो निर्णय गरेको नगरका प्रेस सल्लाहकार नवराज विष्टले जानकारी दिए । नगरकार्यपालिका बैंठकले बलात्कारको आरोपमा जेलमा रहेका कृष्णदासले निर्माण गरेको चतरास्थित रामानन्दाचार्य सेवा पीठ (हनुमान मन्दिर रहेको क्षेत्र) लाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने प्रदेश सरकारलाई सिफारिस गरेको प्रेस सल्लाहकार बिष्टले बताए ।
नगर कार्यपालिकाको बैठकले तत्काललाई स्थानीय चार सामुदायिक विद्यालयलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ भरौललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरका सूचना अधिकारी पुकार पोख्रेलले जानकारी दिए । कार्यपालिका बैठकले नेपाल– भारत सीमानाकासम्म आइपुगेका र अलपत्र अवस्थामा रहेका वराहक्षेत्रका नगरवासीलाई सहजीकरण गरी क्वारेन्टाइनमा राख्ने निर्णय गरेको नगर प्रमुख निलम खनालले जानकारी दिए ।