बिर्तामोडः झापाको दक्षिणवर्ती गाँउपालिका कचनकवल कोरोना संक्रमणको ‘हट स्पट’ भएपछि बिर्तामोड नगरपालिकाले अरु स्थानीय तहबाट कसैलाई पनि आफ्नो नगरमा प्रवेश नदिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । लक डाउनलाई कडाईपूर्वक पालना गर्न नगरपालिकाले नगरवासीलाई अपिल गर्दै पासविनाका सवारी सञ्चालन गर्न नदिइने भएको हो ।
स्वास्थ्य तथा कृषि बाहेकका सबै सेवा अर्काे निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताएका छन् । बिहीवार दिउँसो नगरवासीका नाममा अपिल जारी गर्दै नगर प्रमुख सिवाकोटीले अस्पताल, औषधि पसल, शव बाहन र एम्वुलेन्सको सेवा नरोकिने बताए ।
दुध, बीउबीजन र मलको उत्पादन तथा बिक्री वितरणमा कुनै रोक लगाइएको छैन भने पशु उपचार सेवामा पनि छुट दिने निर्णय नगरपालिकाले सार्वजनिक गरेको अपिलमा उल्लेख छ । घुम्ती सेवामार्फत बिहान ८ देखि १२ सम्म तरकारी बिक्री गर्न पाइनेछ ।
नगरभित्र सञ्चालन भइरहेका विकास आयोजनाको काम नरोकिने भएको छ । ती आयोजनामा मालसमान ढुवानी गर्नुेपर्ने भएकाले त्यस्ता सवारीलाई नगरपालिकाले पास उपलब्ध गराउने मेयर शिवाकोटीले जारी गरेको अपिलमा उल्लेख गरिएको छ ।
झापामात्रै ३५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा २ जना निको भई घर फर्किसकेका छन् । बाँकी ३३ जना कचनकवल गाँउपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका भारतका बिभिन्न स्थानबाट मजदुरी गरि फर्किएका झापाली हुन् । ३३ मध्ये केहीको प्रादेशिक कोरोना बिषेश उपचार केन्द्र विराटनगर र धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेर उपचार भईरहेको छ ।