इटहरीः चितवन, नवलपरासी, कपिलबस्तु र सर्लाहीका बिभिन्न स्थानमा ३० जना नयाँ कोरोना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेरअघि प्रेस विज्ञप्ती प्रकाशित गरि नेपालमा ३० जना कोरोना संक्रमण थपिएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाँउपालिका ६ निवासी ४५ बर्षीय पुरुष, चितवनको भरतपुर ६ निवासी ७३ बर्षीया बृद्धा, र ७४ बर्षीय बृद्ध, कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि नवलपरासीकै सुस्ता गाँउपालिका वडा नम्बर ५ र रामग्राम नगरपालिका वडा नम्बर ३ र १८ निवासी ३३ र ३५ बर्षीय पुरुष, १५ बर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार कपिलबस्तु बाणागंगा नगरपालिका , मायादेवी गाँउपालिका ८ जना २४ देखि ५३ बर्षीय पुरुष र ८ बर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाहीमा मात्र १५ संक्रमित
सर्लाही गौडेता नगरपालिका वडा नम्बर ८,९, ११,१३ र १४ वडाका २२ देखि ३९ उमेरका १४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि सर्लाहीकै रामनगर बहुअर्वा गाँउपालिका वडा नम्बर ७ निवासी १८ बर्षीया युवतीमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ती सबैको स्वाब जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भरतपुर अस्पताल चितवनमा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरुलाई सरकारले तोकेको कोरोना उपचार अस्पतालमा लैजाने तयारी थालिएको बुझिएको छ । थपिएका संक्रमितसंगै नेपालमा संक्रमित हुनेको संख्या ४८७ जना पुगेको छ ।