इटहरी : नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका(७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरूमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए ।

उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आजै स्वास्थ्य परामर्शपछि घर पठाइएको छ ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरूलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको थियो । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
शिलापत्रबाट