इटहरी :आज (शुक्रबार) कोरोना पुष्टि भएका मोरङ रतुवामाई नगरपालिकाका एक ४१ बर्षीय पुरुष भारतबाट राती लुकिछीपी आएको खुलेको छ ।

रतुवामाई नगरपालिका वडा नम्बर २ का ती संक्रमित ब्यक्ति गत जेष्ठ ४ गते आइतबार बेलुका भारतको गुजरातबाट नेपालको सिमाना हुदैं लुकेर आएको रतुवामाई नगरपालिका प्रमुख रबिन राईले जानकारी दिए ।

उनी आएको सुचना पाएसगैं पालिकाले उनलाई घरका सदस्यसगं भेट नगराई नगरपालिकाले निमार्ण गरेको एक प्राथमिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । त्यस लगत्तै उनको आरडिटि परीक्षण गरीएको थियो ।

परीक्षण गर्दा उनमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि विराटनगरमा रहेको कोभिड १९ अस्पतालमा स्वाब परीक्षण गर्दा ति पुरुषमा कोरोना पुष्टि भएको मेयर राईले बताए ।

उनलाई आजै थप उपचारका लागि विराटनगर स्थित कोभिड १९ अस्पतालमा पुर्याउने तयारी भईरहेको छ । पछिल्लो केही समय देखि भारतको सिमानाका हुदैं नेपाल छिर्ने संख्या बृद्धि रहेको छ ।

हाल उक्त नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा ७८ जनालाई राखिएको छ । अन्य २६ जनालाई होम क्वारेन्टाइनमा राखिएको समेत मेयर राईको भनाई छ ।