इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रेकर्ड अुनसार नेपालमा ५ सय ८४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यो संख्यामा सबैभन्दा बढी संक्रमित हुनेहरुमा युवाहरु रहेका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित हुनेहरुमा २१ देखि ३० बर्ष उमेर समूहका युवा रहेका छन् । यो उमेर समूहका २२८ युवाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि ३१ देखि ४० बर्ष उमेरका १ सय ३९ जना युवामा कोभिड १९ संक्रमण पुष्टि भएको मन्त्रालयले आज आफ्नो आधिकारिक फेसबुक पेंजमा सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
१० देखि २० बर्ष उमेर समूहका ११६ जना संक्रमति भएका छन् । १० बर्ष भित्रका १७ संक्रमित देखिएका छन् । ४१ देखि ५० बर्ष उमेरका ५४ जनामा कोभिड १९ संक्रमण भएको छ । ५१ देखि ६० बर्षका २२ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
६१ देखि ७० बर्ष उमेरका १३ जना, ७१ देखि ८० उमेरका ४ जना र ८० माथिका १ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ३ जनाको मृत्यु भईसकेको र ७० जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ । बाँकीको देशका बिभिन्न कोरोना उपचार गर्न सरकारले तोकेको अस्पतालमा उपचार भईरहेको र उनिहरुको अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ ।