इटहरीः प्रदेश नम्बर १ को झापा जिल्ला सबैभन्दा बढी कोरोना संक्रमित हुनेहरुको जिल्ला बन्न पुगेको छ । यसअघि उदयपुर कोरोना भाइरसबाट बढी संक्रमित हुने जिल्लामा परेको थियो । उदयपुरको रेकर्डलाई झापा जिल्लाले तोडेको छ । झापामा हालसम्म ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ जना निको भईसकेका छन् । बाँकीको उपचार भईरहेको छ । झापाको दक्षिणवर्ती गाँउपालिका केचनकवलमा ३३ जना संक्रमित पुष्टि भएका छन् । आज झापा गाँउपालिकामा पनि थप १ जना कोरोना संक्रमित भेटिएका छन् । यसअघि झापाको दमक नगरपालिका र बाह्रदशी गाँउपालिकामा संक्रमित भेटिएका थिए । ती दुवै स्थानीय निकायका संक्रमित निको भएर घर फर्किसकेका छन् । केचनकवलका सबै संक्रमित भने भारतका बिभिन्न स्थानबाट आएका सो गाँउपालिकाका बिभिन्न वडाका बासिन्दा हुन् । उनिहरुलाई समुदायसंग घुलमिल हुन नदिई सीमाबाट सिधै क्वारेन्टाइनमा राखिएकाले उनिहरुबाट स्थानीय समुदायका कसैलाई पनि संक्रमण फैलिएको छैन् ।
झापापछि प्रदेश नम्बर १ को बढी संक्रमित हुने जिल्लामा उदयपुर देखिएको छ । सो जिल्लामा ३३ जना कोरोना संक्रमित भेटिएका थिए । जसमा १२ जना भारतीय नागरिक थिए । ३३ मध्ये २३ जना निको भएका छन् । बाँकीको उपचार भईरहेको छ । धनकुटामा ७ जना र मोरंगमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनकुटाका ७ जना मध्ये ५ जना स्वास्थ्यकर्मी हुन् । एक जना सुरक्षाकर्मी हुन् भने अर्का एक जना स्वास्थ्यकर्मीका आफन्त हुन् । प्रदेश नम्बर १ को सुनसरीमा ३ , खोटांग १ र भोजपुरमा १ जना संक्रमित भेटिएका छन् । भोजपुर हतुवागढी ६ का संक्रमित युवा निको भई घर फर्किसकेका छन् । निको भएर घर फर्किएका बाहेक सबैको विराटनगर स्थित कोशी अञ्चल अस्पताल र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

यी हुन् संक्रमणबाट जोगिएका प्रदेश १ का जिल्ला
प्रदेश नम्बर १ को इलाम, पाँचथर, ताप्लेजुंग जिल्लामा अहिलेसम्म कोरोना भाइरस संक्रमण देखिएको छैन् । त्यसैगरि तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा जिल्लामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन् । ती जिल्लाका स्थानीय पालिकाहरुले समयबाटै सीमा प्रवेशका कडाई गर्नुका साथै लकडाउनलाई प्रभावकारी तरिकाले पालना गराएका कारण संक्रमण नदिएको हो । भारतबाट सीमा नाकामा आएका नेपालीहरु मध्ये केही यी जिल्लाका पनि भएकाले अबका दिनमा यसै भन्न सकिने अवस्था नरहेको बताइएको छ । यी जिल्लाका पालिकाहरुले आफ्ना नागरिक ल्याएपनि उनिहरुलाई समुदायका घुलमिल नगराई सुरक्षित स्थानमा राखेर स्वास्थय परीक्षण गराएर मात्र समुदायमा घुलमिल हुन दिने निर्णय गरेका छन् । उनिहरुलाई राख्नका लागि यतिबेला ती जिल्लाका पालिकाहरु धमाधम क्वारेन्टाइन निर्माणमा जुटेका छन् ।