विराटनगरः भारतले लकडाउन खुकुलो गरेको छ । रेल र यातायातका साधान खुला भएका छन् । यातायातका साधन संचालनमा आएसंगै भारतसंग सीमा जोडिएका प्रदेश १ का नाकाबाट नेपाली भित्रने क्रम पनि बढेको छ । प्रदेश १ का नाकाहरुबाट कतिपय मानिस नेपाल प्रवेश गरिसकेका छन् । पारि भारतमा पनि प्रतीक्षारत छन् । कतिपयलाई भने सरकारकै पहलमा होल्डिङ एरिया तथा क्वारेन्टाइनसम्म लगि सकिएको छ । प्रदेश सरकारले करिब १० हजार मानिसहरु पश्चिमबंगाल र बिहारसंग जोडिएका नेपाली सिमाक्षेत्रबाट नेपाल प्रवेश गर्ने अनुमान गरेको छ । तर, केही दिनयता विभिन्न सीमानाकामा थुप्रिएका दुई हजार मानिसहरुमध्ये केही नेपाल आईसकेका छन् ।
अरु भने नेपाल–भारत सीमामा स्वदेश फर्कने आशमा पालो कुरेर बसेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले यसरी नेपाल प्रवेश गर्ने दश हजार मानिसमा पीसीआर विधिबाट कोरोना भए नभएको परीक्षण गर्ने तयारी गरिसकेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे भन्छन्,‘‘दश हजार जति मानिस आउने अनुमान गरिएअनुसार नै परीक्षणको दायरा पनि बढाउने तयारी गरिएको हो ।’’ सुरक्षा निकायले आफ्ना समयन्त्रमार्फत संकलन गरेको तथ्यांकअनुसार दुई हजार नेपाली प्रदेश १ को सीमासम्म आइपुगेका छन् ।तीमध्ये ७ सयभन्दा धेरैलाई होल्डिङ एरिया र क्वारेन्टाइनमा लगिएको छ ।
केही दिनअघि झापाको कचनकवलबाट नेपाल छिरेका मानिसहरुमा क्वारेन्टाइन स्थलमै परीक्षण गर्दा कोरोना देखिएको थियो । उनीहरुको विराटनगरमा उपचार भई रहेको छ । प्रदेश १ प्रहरी कार्यालयको तथ्यांकअनुसार हालसम्म २ हजार जति मानिस झापा, मोरङ, सुनसरी र इलामको नाकासम्म आईपुगेका छन् । रेल चल्ने दर भारतमा अझ बढेसंगै थप मानिस बढ्ने र यो क्रम केही दिनसम्म चल्ने कार्यालयले जनाएको छ । प्रदेश प्रहरीको तथ्यांकअनुसार जम्मा १ हजार ९ सय ४८ जना सीमासम्म आइसकेका छन् । झापाको विभिन्न नाकामा सबैभन्दा धेरै १ हजार ४ सय ३० जना, मोरङ तर्फ ३ सय ४१ जना, सुनसरीतर्फ १ सय १४ र इलाममा ६३ जना छन् । तीमध्ये पुरुष १ हजार ५ सय २४, महिला ४१० र बालबालिका १४ जना छन् ।
सरकारले तयार गरेका होल्डिङ एरिया र क्वारेन्टाइनमा ७ सय १८ जनालाई राखिएको छ । प्रदेश १ का काकडभिट्टा र जोगबनी नाकाबाट आउने मानिसको संख्या बढ्दो क्रममा छ । केही दिनअघि भारतको महाराष्ट्रलगायत क्षेत्रबाट बस चढेर आएका सब ३ सय जति मानिस जोगबनी क्षेत्रमा छन् । मोरङका साना नाकाहरुतर्फबाट आउन खोज्ने मानिसहरुसमेत प्रतीक्षामा छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले भने,‘‘मानिसहरु भारत सीमासम्म आउने क्रम दिनहुँ बढ्दो रहेको पाइएको छ । हाम्रा कार्यालयहरुबाट सीमामा आउने मानिसको विवरण अद्यावधिक गरिरहेका छौं ।’’ प्रवक्ता तिम्सिनाले मानिसहरु नेपाली सीमातर्फ आउने क्रम अझै केही दिनसम्म जारी रहने बताए ।
प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले भारतबाट आउने मानिस अन्यत्र भन्दा यो प्रदेशमा कम हुने सरकारको आँकलन गरिएको बताउँदै भने,‘‘सीमासम्म आएका मानिसहरुलाई नेपालतर्फका होल्डिङ एरियामा राख्ने, स्वास्थ्य परीक्षण गर्ने र सम्बन्धित पालिकाकाका क्वारेन्टाइनमा पठाउने नै सरकारको रणनीति हो । तर, संक्रमण देखिए सरकारले तयार गरेका अस्पतालमा उपचार गर्न पठाउँछौं ।’’ मन्त्री कार्कीले प्रदेश १ का सिमानामा अन्य प्रदेश जानुपर्ने नेपालीहरुसमेत आएको बताएका छन् । प्रदेश सरकारले संक्रमण फैलावटको तथ्यलाई हेरेर प्रदेशभर ४० हजार जनामा परीक्षण गर्ने तयारी गरेको छ । होल्डिङ एरिया १५ हजार जना अटाउन सक्ने गरी तयार गरिएको छ । यसैगरी आइसोलेसनको बेडसंख्या थप्न सरकारले काम थालिसकेको छ ।