इटहरीः परिवारको आर्थिक अवस्था कमजोर भएका कारण चार महिनाअघि आगोले जलेकी सुनसरीको वराह नगरपालिका वडा नं.७ निवासी एक ५ बर्षीया बालिका उपचारको अभावमा घरमै छटपटिन बाध्य भएकी छन् । बराह नगरपालिका वडा नं.७ नडामा बसोबास गर्दै आएका उमेश बराइली र लक्ष्मी बराइलीकी ५ बर्षीया छोरी देवकुमारी बराइली ४ महिनाअघि आगोमा जलेकी थिइन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसक्दा उनी यतिबेला जीवनमरणको दोसाधमा रहेकी छन् । गत माघमा उनको परिवार जाडो छल्न कोठामा आगो तापेर सुतेका थिए । आगो ताप्ने क्रममा ५ बर्षीया देवकुरमारीले लगाएको कपडामा आगो सल्किएको थियो । आगोले उनको घुँडासम्म जलेको थियो ।
आर्थिक अवस्था एकदमै कमजोर भएका कारण उनलाई ढिलो धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उनलाई प्रतिष्ठानले विराटनगरस्थित नोबेल अस्पताल रेफर गरेको थियो । तर नोबेल अस्पतालले पनि भर्ना गर्न नमानेपछि धेरै वटा अस्पताल धाउँदा धाउँदा बल्ल तल्ल म्याक्स हस्पिटलले बिरामी भर्ना गरेको थियो ।
म्याक्स हस्पिटलले पनि उनका बाबु आमाले औषधि उपचारको पैसा तिर्न नसकेपछि औषधि उपचार नै बन्द गरेको थियो । सुनसरीकी प्रदेश सांसद उमिता बराइलीको पहलमा अस्पताले केही रकम छुट गरेपछि घर फिर्ता गरेका थिए । त्यसबेला देवकुमारीका आमा बुवाले सर्जरी गर्ने ५० हजार रुपैयाँ जुटाउन नसक्दा घर फर्काउन बाध्य भएका थिए ।
अहिले उनीहरुले स्थानीय स्वास्थ्य क्लिनिकमा दैनिक ५ सयदेखि ७ रुपैयाँ खर्च गर्दै आएका छन् । उनीहरु एक वर्षअघि मात्रै भारतबाट नेपाल आएका थिए । बराइली दम्पति अर्काको घरमा बसेर बनिबुतो गर्दै आएका छन् । त्यसमा पनि लामो समयदेखि लकडाउन जारी रहेका कारण उनीहरु थप आर्थिक संकटमा परेका छन् ।
‘अहिले त बनि गर्ने ठाउँ पनि छैन, खोई कसरी छोरीको उपचार गर्नु र ?’ बुवा उमेश बराइलीले भने, ‘काम गरौं काम पाइदैन, छोरीको उपचार गर्न नसक्दा छोरीको स्थिती यस्तो भइसक्यो ।’ उपचारको पैसा जुटाउन नसक्दा देवकुमारी जीवनमरणको दोसाधमा पुगेकी छन् । उनले आफ्नो छोरीको उपचारमा सहयोग गरिदिन सबैमा याचना पनि गरेका छन् ।
आइतबार मात्रै बराइलीको अवस्थाको जानकारी पाएपछि दलित जन अधिकार मंच नेपाल तथा साथी फाउन्डेसन नेपालका अध्यक्ष शान्ती गजमेर, सचिब खेम रनपहेलीसहित ४ जनाको टोली उनको घर पुगेका थिए । ‘बालिकाको अवस्था भयावह छ । त्यसमा पनि परिवारको अवस्था उस्तै रहेछ’ गजमेरले भनिन्, ‘अत्यन्तै कमजोर रहेकाले पनि सहयोग जुटाएर उपचारका लागि पहल भइरहेको छ । तर उहाँलाई थप उपचारका लागि सहयोगको एकदमै खाँचो छ ।’ उनले बालिकालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहे पनि आर्थिक समस्याका कारण परिवारका सदस्यहरुले निर्णय लिन नसकेको बताइन् । आर्थिक अभावकै कारण ती बालिकाले उपचार नपाएर तड्पन बाध्य हुँदासम्म स्थानीय सरकार , जनप्रतिनिधि, प्रदेश सरकार या संघीय सरकारले चासो नराखेको पाइएको उनले बताइन् ।