धरानः नागरिकता नभएकै कारण दुवै मृगौला खराब भएर थला परेकी धरान १४ की २३ बर्षीया युवती राज्यले दिएको निशुल्क स्वास्थ्य सुविधाबाट बञ्चित भएकी छन् । धरान १४ की सपना तावाहाङ लिम्बु नागरिकता नभएकै कारण स्वास्थ्य उपचारबाट बञ्चित भएकी हुन् । लकडाउनका कारण धरान स्थित इलाका प्रशासन कार्यालयले कर्मचारी नभएको भन्दै नागरिकता बनाईदिन नमाने पछि उनि उपचार नपाई घरमै बस्न बाध्य छिन् ।
वडा नम्बर १४ को नरसिंह मन्दिर छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएकी २३ वर्षिय सपनाले नागरिकता नहुँदा मृगौला पिडितलाई सरकारले दिने निशुल्क स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको हो ।
उनको अहिले सम्म नागरिकता बनाएकी थिईनन् । दैनिक ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाले अहिले सम्म नागरिकताको आवश्यक्ता नभएकाले परिवारले उनको नागरिकता बनाईदिएका थिएनन् ।
दुवै मृगौला खराब भए पछि निशुल्क स्वास्थ्य उपचारका लागि जाँदा नागरिकता खोजे पछि बनाउन जाँदा प्रशासनले नबनाइदिएको उनकी आमा नविता तावाहाङ लिम्बुले बताइन । लकडाउनको समयमा कार्यालय बन्द रहेकाले नागरिकता बनाउन सकिन्दैन भन्दै प्रशासनले फर्कादिएको आमा नविताको भनाई छ ।
नागरिकता बनाउन वडा कार्यालयले सिफारिस पनि बनाइदिने भएको थियो । नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने जनाए पछि प्रशासनले नमाने पछि नागरिकता बनाउन नसक्दा अहिले उपचार गर्न समेत समस्या रहेको उनले बताईन् ।
निशुल्क स्वास्थ्य उपचारका लागि वडा कार्यालयले सिफारिस पनि गरिसकेको छ । धरान उपमहानगरपालिकाको विपन्न नागरिक औषधी उपचार सिफारिस समितीको जेठ १ गते बसेको बैठकले पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निशुल्क उपचारका लागि सिफारिस पठाइसकेको छ । तर नागरिकता नभएका कारण उनले निशुल्क उपचार पाउन सकेकि छैनन।
सपना विगत १ महिना देखि दुवै मृगौला खराब भए पछि थलिएकी छिन् । उनका बुबा घर बनाउने मिस्त्री काम गर्छन । घरमा आमा बुबा सहित ५ बहिनी र एक भाइ छन ।
उनी घरकी जेठि छोरी हुन । आर्थिक रुपमा विपन्न भएकाले नै नरसिंह मन्दिरको छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएका थिए । उनको उपचारमा समस्या हुन थाले पछि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तको घरमा बस्दै आएका छन ।
पुरानो पेटको बिरामी रहेकी सपनालाई चैत्रको दोस्रो साता देखि बिरामले च्याप्दै गएको थियो । धरानकै एक निजी अस्पतालमा चेकजाँच गराउँदा विराटनगर स्थित नोबेल जान चिकित्सकले सुझाव दिएका थिए । नोबेलमा चेकजाँच गराउँदा दुवै मृगौला खराब भइसकेको चिकित्सकले बताएका थिए । पछि फेरी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँच गराउँदा पुनः दुवै मृगौला खराब भएको रिपोर्ट आए पछि १ हप्ता उपचार पछि घर फर्किएका थिए ।
आफन्तको घरमा बस्दै आएकी सपनालाई प्रतिष्ठानका चिकित्सकले हेमोडायलासिसका लागि तयारी हुनु भनेको छ तर अन्तिम विकल्प किड्नी ट्रान्सप्लान्टको लागि काठमाण्डौ नै जानु पनि सुझाएको आमाले बताईन ।
उनको अवश्था नाजुक भएकाले हेमोडायलासिसको लागि समेत समस्या परेको छ । उनको उपचारका लागि आर्थिक सहयोगका लागि परिवारले सबैलाई आग्रह गरेका छन ।