इटहरीः एक १९ बर्षीय युवतीलाई जबरजस्ती करणी प्रयास घटनाको प्रकृति मुचुल्का उठाएको १७ दिनपछि इटहरी प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्धा चलाउन पीडितको निवेदन दर्ता गरेको छ । उनले दर्ताको गरेको निवेदनको नम्बर ३६० हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीमा कर्मचारीका रुपमा कार्यरत एक १९ बर्षीय युवतीलाई मन्टेश्वरी संचालक सन्तोष कटवालले बैशाख २६ गते जबरजस्ती करणीको प्रयास गरेका थिए । उनलाई प्रहरी दोस्रो पटक मंगलवार साँझ पक्राउ गरि हिरासतमा लिएको छ ।
महिला अधिकारकर्मीहरुको दवावमा जेष्ठ १३ गते जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको हो । उनि आफुमाथि अन्याय भएको र प्रहरीले समेत शंकास्पद भूमिका निर्वाह गरेको भन्दै अधिकारकर्मीहरुको सम्पर्कमा आएकी थिइन् । अधिकारकर्मी सहित जेष्ठ ११ गते इलाका प्रहरी कार्यालय इटहरी मुद्धा दर्ताका लागि पुगेकी उनको निवेदन तीन पछि अर्थात जेष्ठ १३ गते मात्र दर्ता गरिएको हो ।
अधिकारकर्मी सहित इलाका प्रहरी कार्यालय इटहरी पुगेकी उनलाई मुद्धा फाँटका प्रमुख प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले अभद्र व्यवहार कसुर मात्र मुद्धा दर्ता गर्न महिला सेललाई आदेश दिएका थिए । घटना जबरजस्ती करणी प्रयास भएको छ । पीडित महिला घटना भएदेखि विछिप्पत छिन् । पीडित युवती आफै मलाई अन्याय भयो, न्याय चाहियो भन्दै रोइरहेकी छन् । कसरी तपाई यस्तो घटनामा अभद्र व्यवहार कसुरमा मुद्धा दर्ता गर्नु भन्ने आदेश दिनुहुन्छ ? भनी महिला अधिकारकर्मीले प्रश्न गरेका थिए । महिला अधिकारकर्मी र प्रहरी निरिक्षक श्रेष्ठ बीच करिब डेढ घण्टासम्म घटनाका बिषयमा विवाद चलेको थियो ।
प्रहरी निरिक्षक श्रेष्ठले यस्ता घटनामा सहयोग गर्नुको साटो पीडित युवती र अधिकारकर्मीलाई रुखो व्यवहार गरेका थिए । महिला सेलकी प्रमुखले पीडित युवतीसंग घटनाका बारेमा विस्तृत विवरण लिएकी थिइन् । घटनाका बारेमा सबै सुनेपछि महिला सेलकी प्रमुखले समेत यस्तो घटनामा अभद्र व्यवहार कसुरमा मात्र मुद्धा दर्ता गर्ने प्रकृतिको घटना नभएको जनाउ दिएपछि श्रेष्ठले हाम्रो के जान्छ जवरजस्ती करणी उद्योगमै मुद्धा दर्ता गरिदेउ भन्दै कड्किएका थिए । त्यसपछि उनले युवतीलाई मात्र लिएर डिएसपी धर्मराज भण्डारीको कार्यकक्ष तिर गएका थिए । सो बेला महिलाअधिकारकर्मी समेत उनिसंगै डिएसपी भण्डारीलाई भेट्न जान खोज्दा तपाई जान मिल्दैन यहि बस्नुहोस् भन्दै प्रहरी निरिक्षक श्रेष्ठले रोकेको महिला आधारशिला सुनसरीकी अध्यक्ष एवम् महिला अधिकारकर्मी शुसिला उप्रेतीले बताइन् ।
जेष्ठ ११ गते निवदेन लेखेर पीडित युवतीले इलाका प्रहरी कार्यालय इटहरीको मुद्धा फाँटमा दिएपनि दर्ता नगरि पहिला मेडिकल गर्नुपर्छ भन्दै जिल्ला अस्पताल इनरुवा ती युवतीलाई लिएर गएको थियो । आफ्नी फुपुसंग मेडिकलका लागि इनरुवा पुगेर ती युवती पुनः इलाका प्रहरी कार्यालय इटहरी आएकी थिइन् । आफ्नो निवेदन दर्ता हुने आशामा पुनः इलाका प्रहरी कार्यालय इटहरीको मुद्धा फाँट पुगेकी उनले त्यहाँ रहेका प्रहरीले तिमि पीडित नै भएर आएकी हौं कि , अरुले उचालेर हो ? निवेदनमा लेखिएको कुरा सबै साँचो भन्दै न्यायधिसले झै पीडित युवतीलाई सोध्ने काम गरिएको थियो । प्रहरीले निवेदन दर्ता नगरि उनलाई प्रश्न गरेपछि उनी त्यहाँबाट फुपुसंग बाहिरिएकी थिइन् । उनि घर पुगेर आफुमाथि प्रहरी थप नानाथरी कुरा सुनेर थप मानसिक यातना दिएको भन्दै अधिकारकर्मीलाई रुदै फोन गरेकी थिइन् ।
जवरजस्ती करणी प्रयास जस्तो घटनामा पीडित आफै रुदै म पीडामा परे भन्दै प्रहरी कार्यालय आइसकेपछि तत्काल निवेदन लिएर पीडकलाई पक्राउ गर्नु पर्ने हो । महिलाहरुको त्यो पनि यस्तो प्रकृतिको केसमा प्रहरी तत्काल एक्टिभ हुनु पर्ने कानूनी व्यवस्था छ । निवेदन दर्ता गरि पीडकलाई पक्राउ गरेपछि पीडितको मेडिकल टेष्ट र अन्य अदालती प्रकृया अगाडी बढाउनु पर्नेमा किन इटहरी प्रहरीले यो घटनामा यसप्रकारको कार्य गर्यो बुझ्न कठिन भएको अधिवक्ता निराजन ओझाले बताए । उनका अनुसार यस्ता घटनाको पीडितको निवेदन दर्ता गर्न प्रहरीलाई मेडिकल रिर्पोट आवश्यक पर्दैन ।
इलाका प्रहरी कार्यालय इटहरीका मुद्धा फाँटका प्रमुख श्रेष्ठले मेडिकल रिर्पोट आएपछि मात्र निवेदन दर्ता हुन्छ भन्दै दर्ता नै नगरि पीडितले दिएको निवेदन त्यसै राखेका थिए । २४ सै घण्टा खुल्ला रहने प्रहरी कार्यालय भएपनि १२ जेष्ठमा इदको बिदा भन्दै सो दिनपनि श्रेष्ठले मुद्धा गरेनन् । दुई दिनसम्म निवेदन दर्ता नगर्नुमा यो घटनामा प्रहरी निरिक्षक श्रेष्ठको भूमिका प्रति शंका गर्ने ठाँउहरु धेरै नै रहेको महिलाअधिकारकर्मीहरुको भनाई छ । पछिल्लो समय यी नै प्रहरी निरिक्षक श्रेष्ठले कतिपय घटनामा अरुको क्षेत्रा अधिकार मिचेर विना निवेदन र अदालतको आदेश विना मानिसहरुलाई पक्राउ गरि कानूनी कार्वाही चलाइको प्रमाणहरु सुरक्षित रहेको महिला अधिकारकर्मीहरुले बताएका छन् ।
यस्तै प्रकृतिका अन्य धेरै घटनामा प्रहरीले तत्काल निवेदन लिएर पीडकलाई पक्राउ गरि कानूनी कार्वाही चलाएको पाइएको छ । तर, यो घटनामा प्रहरी निरिक्षक श्रेष्ठ स्वयम् प्रकृति मुचुल्का उठाउन गई पीडकलाई एक दिन थुनेर भोलिपल्टै छाडिदिनुले उनि कटवाल परिवारको प्रभावमा परेको सहजै अनुमान लगाउन सकिने महिलाअधिकारकर्मीहरुको बुझाई छ ।
बैशाख २६ गतेको घटना भएपछि ती कर्मचारी युवती झोक्राएर डेरामा बसेको देखेपछि उनका दाजुले के भएको हो भनि सोधेका थिए । उनले भोलिपल्टा घटना बारे सबै कुरा दाजुलाई भनेकी थिइन् । दाजुले प्रहरीलाई घटना बारे जानकारी गराएका थिए । घटना भएको दुईपछि इलाका प्रहरी कार्यालय इटहरीबाट मुद्धा फाँट हेर्ने प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठको नेतृत्वमा प्रहरीको एक टोलीले मन्टेश्वरीमा आई प्रकृति मुचुल्का लिएका थिए । प्रहरीले मन्टेश्वरीका संचालक कटवाललाई पक्राउ समेत गरेको थियो ।
एक दिन राखेर कटवाललाई भोलि पल्टै मुद्धा नचलाई छोडेको थियो । प्रहरीले मुद्धा चलाई कानूनी कार्वाही गर्नुको साटो ती युवतीलाई घटना सामान्य भएकाले सन्तोष कटवाललाई माफी दिन ती युवती कर्मचारीलाई दवाव दिएको थियो । प्रहरी निरिक्षक श्रेष्ठले नै तिमिहरु एकै ठाँउमा काम गर्ने रहेछौं उनको पनि परिवार छ , बालबच्चा छन् । एक पटकका लागि माफी देउ , माफी दिनुपनि महानता हो भन्दै मानिसक यातना दिएका थिए ।
न्याय पाउने आशमा प्रहरी कार्यालय पुगेकी पिडित युवतीले प्रहरीले नै त्यसरी आफुलाई अनावश्यक दवाव दिएपछि रुदै प्रहरी कार्यालयबाट बाहिरिएकी थिइन् । उनी प्रहरी कार्यालयबाट निस्केको केही समयपछि पीडक सन्तोषलाई प्रहरी छाडेको थियो । पहुँचका भरमा सन्तोषलाई प्रहरीले छाडिदिएको थियो । सन्तोषका परिवारले पैसाको भरमा घटना मिलाएको र युवतीले माफी दिएको भन्दै अनावश्यक कुरा गरेर युवतीको चरित्र माथि प्रश्न उठाएका थिए । सोझो पन गरिबी पनको फाइदा उठाउँदै कटवालले नभएको कुरा टोलभरी फैलाएपछि मन्टेश्वरी नजिकै डेरामा बस्दै आएकी पीडित युवतीले डेरा छोडेर अन्यत्रै सुरक्षित स्थानमा सर्न बाध्य भएकी छन् । नहुने कुरा टोलीभरी फैलाएपछि पीडित युवती थप पीडामा परेकी थिइन् । त्यसपछि उनि महिला अधिकारकर्मीहरुको सम्पर्कमा आई आफ्नो पक्षमा लड्ने कोही नभएको भन्दै आफुलाई न्याय दिलाउन आग्रह गरेकी थिइन् ।
यस्तो छ घटना विवरण
घरमा कोही नभएको दिन अर्थात बैशाख २६ गते मन्टेश्वरीको किताब आएको छ , मिलाएर राख्नु पर्ने र त्यसको बीलहरु मिलाउनु पर्ने बहना बनाई फोन गरेर घर बोलाएका थिए । मन्टेश्वरी संचालक कटवालले ती कर्मचारी युवतीको मोबाईलमा फोन गरि बोलाएपछि उनि कटवालको घर पुगेकी थिइन् ।
मन्टेश्वरी का लागि आएका नयाँ किताबहरु मिलाईसकेपछि संचालक कटवालले अब तपाईले मन्टेश्वरीमा अध्ययन गर्ने सबै विद्यार्थीहरुको जन्मदिनका दिन सामाजिक सञ्जाल मार्फत शुभकामना दिने काम अब तपाईले गर्नु पर्छ भनेका थिए । पीडित युवतीले सो काम आफुलाई त्यती नआउने बताएकी थिइन् । त्यसपछि उनले आफ्नो घरको माथिल्लो तल्लाको कोठामा लगेका थिए । माथिल्लो तल्ला जहाँ कम्प्युटर राखिएको छ, त्यहाँ जाउ म तपाईलाई सिकाइदिन्छु भनेका थिए । ती युवतीले अभिभावक सरह मानेकी मन्टेश्वरी संचालक कटवालले भनेपछि माथिल्लो तल्लामा रहेको कम्प्युटर भएको कोठामा गएकी थिइन् ।
सो बेला मात्र उनले कटवालको घरमा कोही सदस्य नरहेको चाल पाएकी थिइन् । कटवालले कम्प्युटर कोठामा युवतीलाई लगेपछि साँची तपाईको जन्मदिन कहिले पो हो भनि सोधेका थिए । उनले आउँदो जेष्ठ १ गते हो भन्दै जवाफ दिएकी थिइन् । त्यसपछि कटवालले उनको हात च्याप्पै समाई ल जन्मदिनको अग्रीम शुभकामना भनेका थिए । उनको हेराई, व्यवहार र हात समाई गलत तरिकाको भएपछि उनले हातल छुटाउने कोशिस गरेकी थिइन् । उनले पुनः जबरजस्ती युवतीलाई अगांलो हालेर सोफा तर्फ लगेका थिए । प्रतिकार गरी घरको तल्लो तल्लामा आएपछि सुन्नुहोस न मेम सुन्नुहोस मेम भन्दै कटवाल सिढीबाट पुनः तल आएका थिए । फर्किएर हेर्न साथ कटवालले फेरी पिडित युवतीलाई बोकेर सटर भएको कोठा तर्फ लगेर बलात्कारको प्रयास गरेका थिए । पुनः उनले दोस्रो पटक प्रतिकार गरि कटवालको पञ्जाबाट फुत्तकेकी थिइन् । घरको गेटमा आइपुगेकी थिइन् । त्यहाँबाट पनि कटवालले पीडित युवतीलाई पछाडीबाट भेष्टमा तानेर भित्र लैजाने कोशिस गरेका थिए । सो दृश्य केही छिमेकीले देख्ने डरले उनले छाडिदिएका थिए । ती युवती कटवालको घरबाट रुदै निस्केपछि कटवालले पटक पटक युवतीलाई फोन गरेका थिए ।
कट्वाल पुनः पक्राउ
पीडित युवतीको निवेदन दर्ता भएपछि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनलाई इटहरी प्रहरीले बैशाख २८ गतेपनि पक्राउ गरि भोलिपल्टै छाडेको थियो । कटवाललाई प्रहरीले छाडेपछि पीडित युवती थप पीडामा परेकी थिइन् । १६ दिनपछि पुनः पक्राउ परेका उनलाई आवश्यक कानूनी कार्वाहीका लागि प्रकृया थालिसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।