विराटनगरः प्रदेश १ सरकारले कोरोना संक्रमणको परीक्षण दैनिक दुई हजारसम्म पुर्याउने तयारी थालेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
बुधबार शुरु भएको प्रदेश १ को बर्खे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारले दैनिक दुई हजार जनामा कोरोना परीक्षण गर्ने योजनालाई मूर्त रुप दिन नीतिगत रुपमै निर्णय गरिसकेको सदनसमक्ष जानकारी गराएका छन् ।
उनले भने,“कोभिड १९ परीक्षण एक्सन प्लान बनाइएको छ । अहिले पीसीआर परीक्षण तीन ठाउँबाट भइरहेको छ । अहिले दैनिक ३ सय २० जनाको परीक्षण भईरहेको छ । अब ल्याबको क्षमता बढाएर दैनिक एक हजार पुर्याइने छ ।” मुख्यमन्त्री राईले चीनको तिब्बत सरकारको सहयोगमा दुईवटा पीसीआर ल्याब मेसिन आउँदै गरेको र थप दुई ल्याब संचालनमा ल्याएर दैनिक २ हजार जनामा पीसीआर परीक्षण गरिने बताए । सबैभन्दा धेरै परीक्षण क्षमता भएको प्रदेश १ हुने र यो केही दिनभित्रै शुरु हुने राईको भनाई छ । राईले तिब्बत सरकारबाट रु. ८ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री तातोपानी नाका आईसकेको पनि सदनलाई जानकारी गराए ।
हाल विराटनगरमा दैनिक १५०, धरानमा १५० र विराटनगरको प्रादेशिक प्रयोगशालमा २० जनामा पीसीआर परीक्षण हुँदै आएको छ । राईले आइसोलसन बेडसहितको अस्पताल संख्या र क्षमता बढाउने सरकारले निर्णय गरिसकेको पनि बताए । प्रदेशमा हालसम्म ५ हजार ५ सय ६६ जनाको पीसीआर र ११ हजार २ सय ५२ जनामा आरडीटी परीक्षण भएको छ ।
प्रदेश १ कोरोना संक्रमणको उच्च जोखिमा रहेकोले संक्रमण देखिएको ठाउँमा स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य सामग्री पठाउने काममा सरकार केन्द्रीत रहेको भन्दै मुख्यमन्त्री र्राले भने,“हामी आत्तिएका छैनौ, आत्तिनुपर्ने कारण छैन । पूर्वतयारीसहति एक्सन प्लानहरु बनाइएको छ ।” उनले भारतबाट फर्कने व्यक्तिको व्यवस्थापनमा होल्डिङ एरिया तयार गर्ने काम भईरहेको र आवश्यक सामग्री व्यवस्थापन गर्ने अभियानमा सरकार लागिसकेको सुनाए ।

मुलुक संघीय संरचनामा गएकैले कोरोना रोकथाममा प्रभावकारिता देखिएको दाबी गर्दै राईले तीन सरकारका सहकार्य र समन्वयबिना काम गर्न नसकिने बताए । भने,“स्थानीय तहले राम्रो काम गरेका छन् । तहको कामको म प्रशंसा गर्न चाहन्छु । प्रदेश सरकारले समयमै महामारीसंगको संघर्षमा प्रभावकारी ढंगबाट जुध्न छुट्टै कोरोना जनसुरक्षा कोष खडा गरेको छ । सरकाले २५ करोड हालेको छ । सबै सांसदको पारिश्रमिकबाट रकम जम्मा गर्ने काम भएको छ । बैंक वित्तीय संस्था, कर्मचारीले पनि सहयोग गरेका छन् । २९ करोड ३५ लाख जम्मा भएको छ ।”

उनले महामारीसंग जुध्न सबैको सहयोग चाहिएको बताए । “महामारीबाट हामी पनि अछुतो छैनौं । तेस्रो मुलुकबाट आएकी महिलाबाट देखिएको संक्रमण देशका अन्य ठाउँबाट पनि बढ्ने क्रममा छ । सबै प्रदेशलाई संक्रमणले प्रभाव गरिसकेको छ,” राईले भने, “यसको दायरा जति बढ्छ उति नै संक्रमण पनि बढ्दै छ । प्रदेश १ मा कसैले ज्यान गुमाउनु परेको छैन । तर, देशमा ४ जनाको मृत्य भई सकेको छ । हाम्रो प्रदेशमा कोरोना जितेर ३० जना घर फर्किसकेका छन् । बिरामी ठिक हुनुहोस भन्ने कामना गर्दछु ।” आवश्यक तयारीका कामहरु शुरु गर्न थालेकोले अहिले नियन्त्रणमा प्रदेश १ सरकारलाई अफ्ठेरोबीच सहज भएको राईले बताए ।

उनले लकडाउनको स्वरुप अब परिवर्तन गर्नुपर्ने भन्दै बिरामी व्यवस्थापन र उपचार गर्नेमा तुलनात्मक रुपमा प्रदेश १ ले यो कोरोना भाईरसविरुद्धको लडाइँमा अब्बल देखिएको मुख्यमन्त्री राईले दाबी गरे । उनले समस्यालाई सम्हाल्न सक्ने अवस्थामा सरकार रहेको बताउँदै भने,“अब कोरोना प्रभाव हेरेर जिल्लागत रुपमा केही खुकुलो गर्न सकिन्छ ।”
भारतबाट आउनेहरुलाई सरकारले तोकेका नाकाबाट मात्र आउन दिने सरकारले निर्णय गरेको जानकारी गराउँदै मुख्यमन्त्री राईले किसानको लागि राहत प्याकेज घोषणा र विदेशबाट फर्कनेलाई पनि स्वरोजगारमुलक पेशामा लगाउने तयारी थालेको बताए ।