सोलुखुम्बु: सोलुखुम्बुका एक २८ वर्षीय युवामा कोरोना संक्रमित भेटिएको छ । कोरोनाको आशंकामा पिसिआर परिक्षणका लागि काठमाण्डौ पठाइएको सोलुखुम्बुका तीन जनामध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् ।
फाप्लु स्थित आइसोलेसनमा रहेका सोलुदुधकुण्ड नगरपालिका घर भएका उनलाई आज कोभिड १९ अस्पताल विराटनगर लगिँदैछ । दोश्रो पटकको पिसिआर परिक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको हो । सोलुखुम्बुमा कोरोना संक्रमित पुष्टि भएपछि बिहिबार बैठक बसी थप सुरक्षाको तय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।
सोलु अस्पताल फाप्लुमा गरिएको आरडीटी परिक्षणमा नेगेटिभ रिपोर्ट आएपनि कोरोनासँग मिल्दो लक्षण देखिएका कारण गत ८ गते ज्वरो आएर अस्पताल भर्ना गरिएको थियो । त्यस लगत्तै स्वाब संकलन गरी शुक्रबार काठमाण्डौ पठाइएको थियो । सोलुखुम्बुवाट पठाइएको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परिक्षण गरिएको हो।
स्वाब संकलन गरिएकालाई फाप्लुस्थित आइसोलेसन कक्षमा राखिएको थियो । यस अघि सोलुखुम्बुमा लिखुपिके गाउँपालिकामा एक जना र सोताङ गाउँपालिकामा एक जनाको आरडिटी परिक्षण पोजेटिभ देखिएकोमा पिसिआर परिक्षण नेगेटिभ आएको थियो । संक्रमित देखिएका पुरुषको अहिले ट्राभल हिष्ट्री पत्ता लगाउने काम भईरहेको छ ।