इटहरी :प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विरामीलाई भर्ना नगर्नु अस्पतालको लापरवाहीको पराकाष्टा भएको टिप्पणी गरेका छन् ।
बिहीबार अस्पताल प्रशासनसँगको छलफलमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले अस्पतालका २०० बेडमध्ये १५० वटा खाली रहेको बताएको बताउँदै उनले भने, ‘समस्या भए मलाई भन्नुपर्छ, यो लापरवाहीको पराकाष्टा हो ।’
संक्रमण बढ्दै गएका कारण बिहीबार मन्त्री घिमिरेले थप तीन सय बेड तयार गर्न निर्देशन दिएका थिए । तर शुक्रबार आएका विरामीलाई प्रवेश गर्न नदिइएको जानकारी पाएपछि मन्त्री घिमिरे शनिबार बिहानै ६ बजे धरान पुगेका थिए । ‘मैलै अँस्ति सबै निर्देशन दिएको थिएँ,’ उनले भने, ‘लापरवाही गरेका कारण म आफैं धरान आएको छु ।’
मन्त्री धरान आइपुगेपछि मात्रै कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ । अहिले प्रतिष्ठानको आइसोलेसन वार्डमा अगाडी भर्ना भएका ६७ जना र आज भर्ना भएका २७ जना गरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या ९४ पुगेको छ भने २ जना कोरोना आशङ्का गरिएका बिरामी आइसोलेसनमा राखिएको छ ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापा कचनकवल गाउँपालिकाका २७ जना र भद्रपुर नगरपालिका घर भएका एक ब्यक्तिलाई प्रदेश मन्त्रालयको सहयोगमा उनीहरुलाई राति १० बजे ल्याइएको थियो । तर वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा ठाउँ नभएको भन्दै राख्न नमानेपछि संक्रमित २८ जना रातभर गेट बाहिर गाडिमा भोकै बसेर रात कटाएका थिए ।