समाजमा कहिलेकाहीँ अकल्पनिय र दुःखद घटनाहरु हुने गर्दछन । यस्ता घटना हुनुको पछाडी धेरै कारणहरु हुन सक्छन । कहिले काहिँ मान्छेको मानसिक स्वास्थ्य अवस्था ठिक नहुदा पनि यस्ता दुःखद घटना हुन पुग्छन । यस्तै दुःखद घटना मोरङको बेलबारीमा भएको छ । एक ३० बर्षीय जीवन लिम्बूले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरि आफुले पनि आफ्नै घाँटी आफैले रेटेर बिभत्स तरिकाले आत्महत्या गरेका छन ।
उनी लागुपदार्थ दुव्र्यसनीमा पस्नुका साथै मानसिक रुपमा अस्वस्थ भएको पाईएकोछ। बेला बेलामा मानसिक रोगका कारण यस्ता दुःखद घटना हुँदा मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरुलाई घर परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाँधेर राख्नु पर्छ भन्ने धारण आम मानिसहरुमा पाईन्छ । मानसिक सन्तुलन गुमाएको ब्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुदैनन् ।
नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोचाईमा हुने मतिभ्रम (Delussion), हेराई, सुनाईमा हुने मित्थावास( llHaucination) का कारण अन्जानवस यदा कदा यस्ता घटना हुने पनि गरेका छन ।
विशेष गरि जाँड रक्सि तथा लागुपदार्थको दुव्र्यसनीमा , तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया , अति रिस उठ्ने रोग, डिलेरियम , डिमेन्सिया जस्ता रोगमा बिरामी कहिले काहीँ आबेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्छ।
उनीहरुले यस्तो घटना हुनुको पछाडी कसैलाई दुःख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन् । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath) हरुमा भने बदलाको भावना हुन्छ उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन। अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुदैन ।
मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान र्पुयाउनुपर्छ । बिरामीले अरुलाई मात्र होईन आफुलाई पनि खतरामा पर्न सक्छ ।
परिवारले ध्यान दिनुपर्ने कुराः
१) कडा खालको मानसिक रोग लागेको ब्यक्तिलाई म रोगी छु मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान नहुन सक्छ । यस्तो अबस्थामा फकाई फुलाई अस्पताल लैजानुपर्छ ।
२) उनीहरुसँग विवाद, झर्को फर्को गर्नु हुँदैन् । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।
३) बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।
४) उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नु हुँदैन् ।
५) मानसिक रोगीले भेट्ने गरी हात हतियार, धारिले वस्तु, डोरी लगायतका सामान राख्नु हुँदैन् ।
६) विरामी उत्तेजित भएका बेला रेडियो, टिभि बन्दगर्नु पर्छ ।
७) आफुलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।
            (लेखक मनोविद हुन,उनि मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन ।)