गौरीगंजः भारतको गुजरात र मुम्बईबाट गौरीगंज आईपुगेका झापाको गारीगंज गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पताल कोशी अस्पताल विराटनगरको प्रयोगशालामा थ्रोट स्वावको परीक्षण गर्दा आईतबार ती ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका २३,३७ र ३९ बर्षिय ३ जना पुरूष र वार्ड नं. ५ घर भएका १८ बर्षिय १ जना पुरूषमा कारोना पुष्टि भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयले पनि गौरीगंज गाउँपालिका ४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।उनीहरूको जेठ १५ गते पिपिसीआर टेष्ट लिई परिक्षणका लागि विराटनगर पठाईएको थियो ।
संक्रमित ४ जनालाई गौरीगंज गाउँपालिकाले स्थापना गरेको वार्ड नं. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई थप उपचारका लागि कोरोना अस्पताल पठाउन कुरा भईरहे पनि टुङ्गो नलागिसकिएको जनाईएको छ ।

विराटनगर र धरानमा स्थापना भएको कोरोना अस्पतालमा संक्रमितहरूलाई उपचार गर्ने स्थानको अभावले त्यहाँको अस्पतालले उनीहरूलाई लिन नमानेको बुझिएको छ ।यसअघि झापको कचनकवलबाट पठाइएका २७ संक्रमितहरुलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिदा रातभरी गएको बसमै संक्रमितले रात कटाउनु परेको थियो । शनिवार बिहानै प्रदेश १ सरकारका समाजिक विकास मन्त्री जीवन घिमिरे आफै प्रतिष्ठान पुगेपछि मात्रै २७ संक्रमितहरुलाई भर्ना गरिएको थियो ।