इटहरीः कोभिड १९ संक्रमण भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका १८ जना निको भई गएराती अस्पतालबाट डिस्र्चाज भएका छन् ।
डिस्र्चाज हुनेहरुमा १७ जना पुरुष झापाको कचनकवल गाँउपालिका र एक जना धरान १३ कि महिला रहेको प्रतिष्ठानमा प्रवक्ता डा. निदेश सापकोटाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइएको प्रवक्ता डा. सापकोटाले बताए ।
प्रतिष्ठानका अनुसार उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए ।
धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आइसोलेसनमा अब झापाका ८० जना संक्रमितहरुको उपचार भईरहेको सह प्रवक्ता डा. आशिस श्रेष्ठले जानकारी दिएका छन् ।