इटहरी :रौतहटमा आज ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३१० पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न स्थानबाट रौतहट आएका नेपाली छन् ।

संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपाललिकाका १४ जना, राजदेवी नगपालिकाका १८, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाई नगरपालिकाका १ जना तथा यमुनामाई गाउँपालिकाका ३ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, रौतहटका प्रमुख महेश साहले जानकारी दिए । उनका अनुसार सबै स्थानीय पालिकाका क्वारेन्टाइनमा छन् ।

जिल्लामा आइसोलेसन बेडको अभाव हुँदा संक्रमितलाई कहाँ राखेर उपचार गर्ने भन्नेबारे अन्योल छाएको छ । उनीहरूलाई अर्को आइसोलेसन तयार नहुन्जेल उनीहरू बसिरहेको क्वारेन्टाइनमा नै आइसोलेट गरेर राख्ने तयारी गरिएको गौर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्ण साहले जानकारी दिए ।

उनका अनुसार धरहरीमा अवस्थित पोलिटेक्निकल इन्टिच्युट र गौरको गौरीशंकर क्याम्पसलाई आइसोलेसन बनाउने तयारी भइरहेको छ । जिल्लामा पर्याप्त आइसोलेसन नहुँदा अझै पनि यसअघि पुष्टि भएकाहरूमध्ये केहीलाई क्वारेन्टाइनमै राखिएको छ ।
संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितहरूलाई गरुडा नगरपालिकास्थित प्रहरी स्कुलमा निमार्णाधीन आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।

जिल्लामा सोमबार दिउँसोसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ८ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ८ हजार ३९ जना छन् । जसमध्ये ७ हजार ७ सय ३५ पुरुष र ३ सय २४ महिला छन् ।

भारतमा रहेका करिब १५ हजार बढी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान छ । धेरै जनाको स्वाब परीक्षणको रिपोर्ट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । जिल्लामा भीटीएम किटको अभावले गर्दा क्वारेन्टाइनमा बस्नेहरूको स्वाब संकलन तीव्र गतिले हुन सकेको छैन ।

शनिबार र आइतबार गरी ५र५ सयका दरले १ हजार किट आएको जिल्ला जनस्वास्थ्यले जनाएको छ । संक्रमणको दर उच्च रहेकाले परीक्षणको दायरा ठूलो बनाउन र तीव्र रूपमा स्वाब संकलन कार्य अगाडि बढाउन प्रदेश तथा केन्द्रलाई ताकेता गर्दा पनि पार्याप्त किटहरू आउन नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
#शिलापत्रबाट