इटहरीः जब नरसिङ्गाको धुन बज्छ, घरबाट दुलहा सगुन लिएर दुलही लिन निस्कन्छन् । दुलहीको घर वा पार्टी प्यालेसमा पनि त्यसै गरी दुलही अनमाउने बेलामा नरसिङ्गा बज्छ । यो शहरिया संस्कृतिको नयाँ रूप हो । ठूलो आवाजमा बज्ने ब्याण्ड बाजालाई नौमतीको धुनले जित्दैछ । हराएको संस्कृतिको एउटा पाटोलाई नयाँ पुस्ताले आत्मसात गर्दैछ ।
हिन्दू समुुदायमा गरिने विवाह कर्म र नौमती बाजाको साइनो नयाँ भने होइन । पिता पुुर्खाले विवाहमा अनिवार्य गरेको यो बाजा नयाँ पुुस्तासँगै किनारा लाग्दै गयो । आधुनिकताले थिचिदै जाँदा हाम्रा अमूल्य संस्कृति ओझेलमा परे । तीमध्ये नौमती बाजा पनि थिए ।
तर, समय फेरियो । अहिले नयाँ पुुस्ताले पुनः पछाडि फर्केर हेर्न थालेका छन् । संस्कृतिका राम्रा पक्षलाइ आत्मासात गर्दै पुस्तान्तरणको तयारीमा रहेका छन् । शुक्रबार धनकुुटाका महेश बुुढाथोकी र मोरङकी दिप्ती कार्कीको बिहेमा पनि यस्तै धुन गुञ्जियो । नौमती बाजा बजाउने टोलीका संयोजक सुन्दरहरैंचा– ८ का कृष्ण बर्देवाले अहिले बिहेमा प्रायः नौमती अनिवार्य जस्तै भएको सुनाए ।
‘हामी बर्सेनी २० ओटा जति बिहेमा बाजा लिएर पुुग्छौँ’, उनले भने ‘१० देखि १५ जनाको हाम्रो टिमको व्यस्तता हरेक वर्ष बढ्दैछ ।’
उमेरले ३० ननाघेका बर्देवाले भाइ पुस्ता र बुवा पुस्ताको नेतृत्व गर्छन् । उनका काकासहित भाइहरूलाई लिएर बिहेमा पुुग्ने बर्देवाले आधुनिक पुस्ताले नौमतीको धुन मन पराउन थालेको बताए । उनले नयाँ युवामा संस्कृति जगेर्नाको चेतना आएसँगै आफ्नो पेशामा पनि व्यावसायिकता थपिएकोमा हर्षित भए ।
पढेलेखेका युवा हुन् बर्देवा । तर उनले आफ्नो समुुदायमा परम्परादेखि नै बाजा बजाउने चलन भएको हुँदा बुवा पिढीको सीपलाई ग्रहण गरी नयाँ पुुस्तालाई सिकाउँदै लगेको बताए । ‘जसरी विवाहमा नौमती धुनको माग बढ्दै छ, त्यसैगरी बाजा बजाउन सिपालुु हातको पनि माग बढ्दैछ ।’
वर्षौं अघिदेखि विवाहमा बाजा बजाएर हिँड्ने काजी नेपालीलाई पनि संस्कृतिको परिष्कृत रूपले लो
भ्याएको छ । उनी भन्छन्, ‘पहिले दिनभरी बाजा बजाउँदा एक पेट बल्लतल्ल पाइन्थ्यो, अहिले राम्रो पारिश्रमिक पनि पाइन्छ ।’
इन्द्रबहादुर बर्देवाले नयाँ पुुस्तालाई नौमती बाजा सिकाउनुपर्ने बताए । ‘लोप हुन लागेको राष्ट्रिय धुनलाई संरक्षण गर्नुपर्ने हुनाले यसमा स्थानीय सरकारले पनि सहयोग गरोस्,’ बर्देवाले भने ।
भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले ब्याण्ड बाजामा धुम धमाका भए पनि अपनत्व नहुने बताए । ‘नौमती बाजामा नेपालीपनको आभास र विवाहमा नेपालीत्वको संस्कृति बहन गरेको हुँदा नयाँपुस्तामा यो लोकप्रिय भएको हो,’ न्यौपानेले भने । उनले नेपाली समुुदायमा बिस्तारै छुवाछुतजस्तो कुप्रथा हट्दै गएको हुँदा यो बाजाले यसमा थप सकारात्मक भूमिका खेल्ने बताए ।