विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको बताएका छन् ।
गत वैशाख ५ गते उदयपुरको भुल्केमा पहिलो पटक १२ जनामा एकै पटक संक्रमण देखिएको थियो । त्यसपछि फेला परेका सबै ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के संक्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले दाबी गरेका छन् ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २७ जनालाई डिस्चार्ज आज डिस्चार्ज गर्दै मन्त्री घिमिरेले भने,“जिल्ला अस्पताल धनकुटामा देखिएको संक्रमणको पनि अन्त्य भएको छ । अस्पतालका ४ जना डिस्चार्ज हुनु भएको छ ।”
धनकुटा जिल्ला अस्पताल भित्रको संक्रमणको अध्ययन भईरहेको जानकारी दिंदै मन्त्री घिमिरेले भन्नुभयो,”अस्पतालभित्र कसरी संक्रमण फैलियो भन्ने अध्ययन गरिरहेका छौं ।” उदयपुर र धनकुटा बाहेकका ट्राभल डिस्ट्री विदेशबाट भएको मन्त्री घिमिरेको भनाइ छ ।
यसैबीच, मोरङ सुन्दरहरैचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा आजदेखि कोरोना अस्पताल सञ्चालनमा आएको छ । मन्त्री जीवन घिमिरेले २ सय बेडको अस्पताल संचालनमा आएको बताए । अब संक्रमण देखिएकाहरुलाई गोठगाउँमा उपचार गर्न पठाइने छ । मेची अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालनको तयारीभइरहेको छ ।