इटहरीः कोरोना भाइरस संक्रमण रोगथाम, उपचार र राहत वितरणका नाममा ११ करोड बढी खर्च गरेको प्रदेश नम्बर २ कोरोना संक्रमणको ‘हट स्पट’ बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार ७ प्रदेश मध्ये सबैभन्दा बढी संक्रमित हुने प्रदेशमा प्रदेश नम्बर २ परेको छ । हालसम्म सो प्रदेशका ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो प्रदेशमा आइसोलेशनमा ८ सय ३४ जना उपचार गरिरहेका छन् । एक जनाको मृत्यु भएको छ भने प्रदेश नम्बर २ मा २२ हजार ४ सय १९ जना क्वारेन्टाइनमा बसेका छन् । प्रदेश नम्बर २ मा हालसम्म १ सय १९ जना निको भई घर फर्किएका छन् । 

COVID19-graphic-POST-SIZE-coronavirus

प्रदेश नम्बर २ पछि सबैभन्दा बढी संक्रमित हुने अर्को प्रदेशमा प्रदेश नम्बर ५ हो । यो प्रदेशमा हिजोसम्मको विवरण अनुसार ८ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । सो प्रदेशमा सबैभन्दा बढी ४ जनाले ज्यान गुमाएका छन् । ८ सय १५ जनाको आइसोलेशनमा राखेर उपचार गराईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर ५ का बिभिन्न स्थानका क्वारेन्टाइनमा ३६ हजार ५ सय ३९ जना बसेका छन् । ७९ जना सो प्रदेशबाट कोरोना संक्रमण निको भई घर फर्किएका छन् ।

 कर्णाली प्रदेशमा हालसम्म ३ सय ८३ जना संक्रमित भेटिएका छन् । सो प्रदेशमा १ जनाको मृत्यु भएको छ भने कोरोना भाइरसबाट निको भई २ जना घर फर्किएका छन् । सो प्रदेशका ३ सय ८० जना आइसोलेशनमा राखेर उपचार भईरहेको छ । ३२ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ मा १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा ३ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । उता गण्डकी प्रदेशमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदुरपश्चिम प्रदेशमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा १ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।