भोजपुर: जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीहरूको सेवाको लागि हतुवागढी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ।

घोडेटारमा आँखा उपचार केन्द्र संचालन गर्न गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र नेपाल नेत्रज्योति संघ भोजपुरका अध्यक्ष तेज मोक्ताले सम्झौतामा हस्ताक्षर गरेका छन्।

भोजपुरमा अहिले सदरमुकाममा मात्रै आँखा उपचार केन्द्र रहेकोमा हतुवागढीमा राखिने नयाँ केन्द्रले आँखाको परीक्षण, औषधि, चश्‍माको पावर जाँच, चश्मा बनाउने र विशेषज्ञहरू ल्याएर शिविर संचालन गर्ने संघका अध्यक्ष मोक्तान बताए।

गाउँपालिकाका अध्यक्ष राईका अनुसार केन्द्रमा तत्काल नेत्र सहायक आखाँ सम्बन्धि अध्ययन गरेको अहेब १ जना र आई वर्कर सहयोगी १ गरि २ जना स्टाफ रहनेछन्। उनका अनुसार हाललाई प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा नै अस्थायी रुपमा आँखा उपचार केन्द्र पनि स्थापना गर्ने तयारी गरिएको छ ।
केन्द्र संचालन गर्न गाउँपालिका, प्रदेश सरकार र नेत्रज्योति संघको संयुक्त सहकार्य रहने गाउँपालिका प्रमुख राईले बताए।

यस उपचार केन्द्रबाट जिल्लाका रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाका वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।