इटहरीः कोरोना भाइरस संक्रमणका कारण नेपालमा १४ औं व्यक्तिको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित भएको पाइएको छ। अस्पतालका अनुसार उनी ६ महिना अघिमात्रै उपचारका लागि भारतको मुम्बई गएर यही जेठ २१ मा नेपाल फर्किएका थिए। उनलाई जेठ २२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो।
प्रतिष्ठानको प्रिआइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गर्दा आइतबार ती पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टिपछि उनलाई आइसोलेसन वार्डमा सारेर उपचार शुरु गरिएको थियो ।उपचार गर्ने क्रममा आइतबार राति ११ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। नेपालमा यसअघि १३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । नेपालमा ३ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ४ सय ६७ जना निको भएर घर फर्किएका छन् ।