विराटनगरः मोरङको दुई नगरपालिका र एक गाँउपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मोरङको रतुवामाई, लेटाङ नगरपालिका र धनपालथान गाउँपालिकामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाकारी दिएको छ । योसँगै मोरङमा मात्रै कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।
मन्त्रालयका अनुसार मोरङको लेटाङ नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सो नगरपालिकाका ३० र २९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित युवक १४ जेठयता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा छन् । नगरको क्वारेन्टाइनमा अन्य १३ जना बसिरहेका छन् ।
रतुवामाई नगरपालिकामा थप २ जनामा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यता रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले नयाँ संक्रमितका बारेमा आधिकारिक जानकारी आएको बताए । धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएकाहरूमध्ये एकजना महिला, एक बालक र तीन पुरुष गरी जम्मा पाँचजनामा कोरोना संक्रमण देखिएको गाउँपालिका सिनियर अहेब ऋषिराज सेठले जानकारी दिएका छन् । उनले आइतबार दुईजनामा संक्रमण देखिएको जनाए ।