विराटनगर:प्रदेश १ बाट मंगलबार ३४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

विराटनगर स्थित प्रादेशिक अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालबाट २८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका हुन् । धरानबाट डिस्चार्ज हुने सबै झापाका रहेका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उदयपुरको भुल्केकी ४५ बर्षीया हुसुना खातुन, सोलुखुम्बुका २८ बर्षीय एकराज मगर, झापाका २९ बर्षीय सुमन मुर्मु, १९ बर्षीय तालिम आलम, १९ बर्षीय कासिप आलम र २५ बर्षीय सहलम आलम डिस्चार्ज भएका हुन् ।

सो उपचार केन्द्रबाट हालसम्म ६३ जना संक्रमित निको भएर घर फर्केका छन् भने अहिले २३ जना उपचाररत रहेको केन्द्रका ईन्चार्ज तथा जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पछिल्लो २ पटक पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछी उनीहरूलाई डिस्चार्ज गरिएको हो ।