विराटनगरः प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी झापाको मेचीनगरमा एक जना, कनकाई नगरपालिकामा ३ जना र गौरादहमा एकजना संक्रमण देखिएको छ । सबैको नमूना विराटनगरमा अवस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो ।
अब प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । १२५ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् ।