इटहरी: नेपालमा पहिलोपटक ४ दिनका शिशुमा कोरोना भाइरस संक्रमण देखिएको छ। बाजुराको क्वारेन्टिनमा रहेकी शिशुमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए।

सेती प्रादेशिक अस्पताल, धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो। शिशुकी आमालाई पनि संक्रमण देखिएको पन्तले बताए। बुवाको भने नतिजा आउन बाँकी छ।

शिशुको गत जेठ १६ गते क्वारेन्टिनमै जन्म भएको थियो। उनका आमा र बुवा भारतबाट जेठ १४ गते आएका थिए। जिल्ला आएपछि गर्भवती महिलासहित उनका श्रीमानलाई सिधै क्वारेन्टिन लगिएको थियो।
सोही क्वारेन्टिनमा रहेकी २ वर्षीया बालिका १४ गते बिरामी परिन्। पछि बालिकालाई जिल्ला अस्पताल, मार्तडी रेफर गरियो। त्यसपछि आइसोलेसनमा भर्ना गरेर बालिकाको १६ गते पिसिआर परीक्षणका लागि स्वाब धनगढी पठाइएको पन्तले जनाए। तर पोजेटिभ नतिजा आउनु एक दिनअघि नै बालिकाको मृत्यु भयो। उनकी आमालाई पनि संक्रमण देखियो। बुवाको भने नगेटिभ देखियो। उनीहरू पनि भारतबाटै आएका थिए।

बालिकाको कोरोनाबाट मृत्यु भएपछि जेठ १९ गते क्वारेन्टिनमा रहेका १८२ जनाको स्वाब संकलन गरेर धनगढी पठाइयो। तीमध्ये आज आएको नतिजामा ४ दिने शिशुसहित १७ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ९ जना पुरुष र ८ जना महिला छन्। ७२ जनाको रिपोर्ट आउन बाँकी नै छ।
चार दिने शिशुसहित संक्रमण पुष्टि भएकी उनकी आमा अहिले क्वारेन्टिनमै छिन्। प्रमुख पन्तले आमा र शिशुलाई क्वारेन्टिन स्थलमै छुट्टै आइसोलेसन बनाएर राख्ने तयारी रहेको जनाए।

जिल्लामा पनि ठाउँ छैन। उहाँहरूलाई क्वारेन्टिनमै छुट्टै राख्ने तयारी छ। केही समस्या आए जिल्ला रेफर गर्न स्वास्थ्यकर्मीलाई भनेका छौं,ु उनले भने।
सेतोपाटीबाट