इटहरीः सरकारले लकडाउन खुकुलो पारेसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । आज मात्रै ४ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । एकै दिन यतिका संख्यामा संक्रमित भेटिएको घटना नेपालमा पहिलो हो । यससँगै नेपालमा थपिएसँगै नेपालमा कुल संक्रमितको ५०६२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो। विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो। यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ। सरकारले पीसीआर परीक्षणको विधिलाई पछिल्लो समय तिव्रता दिएको छ। पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९ सय २५ र आरडिटी विधिबाट ९ हजार ९ सय ९ जनाको नमुना परीक्षण भएको छ। अहिलेसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ जनाको नमुना परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन्। आइसोलेसनमा ४ हजार १ सय ६९ जना उपचाररत रहेका छन्। शुक्रबार १६ जना डिस्चार्ज भएसँगै आजसम्म ८ सय ७७ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोना संक्रमणका कारण १६ जनाले ज्यान गुमाईसकेका छन् ।