इटहरीः विराटनगरमा रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गर्ने प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि ५० करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले विपद र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधि तथा उपकरणको लागि स्रोत व्यवस्था गरेको छ । कोभिड १९ को रोकथाम नियन्त्रण, उपचार र राहतको लागि गठित कोरोना जनसुरक्षा कोषमा पर्याप्त बजेटको व्यवस्था समेत प्रदेश सरकारले गरेको छ । त्यसैगरि प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्न सिटी स्क्यान, हेमोडायलसिस सेवा र थप भेन्टिलेटर सहितको सुविधायुक्त सघन उपचार कक्ष सञ्चालनको प्रबन्ध मिलाइने भएको छ । सो कार्यका लागि रु २३ करोड विनियोजन गरिएको छ । धनकुटा प्रादेशिक शिक्षण अस्पतालको स्थापनार्थ विस्तृत संभाब्यता अध्ययन र पूर्वाधार विकासका लागि समेत प्रदेश सरकारले आवश्यक रकम विनियोजन गरेको छ । हाल ५० शैया सञ्चालित जिल्ला अस्पतालहरूमा प्रयोगशाला सुदृढीकरण, भेन्टिलेटर सहितको सघन उपचार कक्ष, अक्सिजन प्लान्ट सहितको गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्ध मिलाएको छ ।
२५ शैया सम्मका अस्पतालहरूलाई स्मार्ट अस्पतालमा रुपान्तरण गर्न सूचना प्रविधिमा आधारित उपचारको प्रबन्ध, अक्सिजन प्लान्ट जडान, फोहरमैला निर्मलीकरणका लागि अटोक्लेप मेसिनको लागि स्रोतको प्रबन्ध मिलाएको छ । अस्पातालहरूको सुदृढीकरण र सेवा विस्तारका लागि रू १ अर्व १० करोड विनियोजन प्रदेश सरकारले गरेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न, भवन निर्माण,अत्याधुनिक पिसिआर मेसिन र उपकरणहरूको प्रबन्ध गर्न रू ६ करोड ४६ लाख विनियोजन गरिएको छ । दातृ निकायको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने प्रबन्ध मिलाएको छ ।
आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा सेवा सञ्चालनका लागि प्रदेश नेचुरोप्याथी अस्पताल सञ्चालनका लागि आवश्यक रकम प्रबन्ध गरिएको छ ।सर्पदंशबाट हुने मृत्युलाई कम गर्न सर्पदंश उपचार केन्द्रका लागि भेन्टिलेटरको व्यवस्था गरिएको छ ।अनुबंशिक अपांगता (हेमोफिलिया) भएका व्यक्तिहरूका लागि एन्टि हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी जीवन रक्षा गर्न रु १ करोड बिनियोजन गरिएको छ ।
गर्भवती, प्रसुती, र नवजात शिशु समेतलाई उत्कृष्ट सेवा प्रदान गर्न स्थानीय तहसँगको समन्वयमा ग्रामीण स्वास्थ आमा कार्यक्रम सञ्चालन गरिनेछ।यसका लागि रु ५ करोड विनियोजन गरिएको छ । आमा सुरक्षा कार्यक्रम अन्तरगत आपतकालीन व्यवस्थापनका लागि हवाई उद्दार गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
प्रदेशमा बढ्दै गएको नसर्ने रोगको रोकथाम तथा रोगको निदान र जीवन शैली परिवर्तन सम्बन्धी समुदायमा आधारित कार्यक्रम स्थानीयतहसँगको सहकार्यमा प्रारम्भ गरिनेछ। यसबाट जीवनशैली परिवर्तनका लागि सचेतना, रक्तचाप मापन र रगतमा चिनीको मात्रा समेतको मापन, स्वास्थ्य साक्षरता तथा स्वस्थ जीवन प्रबर्ध्दन गर्न जनस्वास्थ्य कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
उदयपुरको कटारी, झापाको दमक र सुनसरीको इटहरी अस्पतालको क्षमता अभिवृद्धि र सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्न रू १ करोड पचास लाख विनियोजन गरिएको हिजो अर्थमन्त्री ्र इन्द्र आङ्बो मौसमले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा उल्लेख गरिएको छ ।