सुन्दरहरैंचाः मोरङको सुन्दरहरैंचा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको कोरोना अस्पतालबाट ४० जनालाई डिस्चार्ज गरिएको छ । सो अस्पतालमा उपचाररत १ सय १८ जना संक्रमित मध्ये पहिलोपटक ४० जनालाई उपचार पश्चात घर पठाइएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद् राजकुमार ओझा, लोकप्रसाद संग्रौला, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ लगायतले फूलको गुच्छा दिएर सबैलाई विदाइ गरे ।
असार २ गते जम्मा ५२ जनाको श्वाव परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उनीहरुमध्ये ४० जनाको रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिएको गोठगाउँस्थित कोभिड १९ आइसोलेसन अस्पतालका संयोजक डा. शैलेशमणि पोखरेलले जानकारी दिए । नेपाल सरकारको पछिल्लो निर्देशीका अनुसार पहिलो पटकको परीक्षणमा नेगेटिभ देखिएपछि डिस्चार्ज दिनुपर्ने भएकाले सोही अनुसार ४० जनालाई डिस्चार्ज गरिएको पोखरेलले जानकारी दिए ।
यता निको भएका संक्रमतिहरुको विदाइ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा हाल समुदाय स्तरमा कोरोना संक्रमण नहरेकाले चाँडै प्रदेश १ लाई कोरोना मुक्त बनाउने गरि प्रदेश सरकार लागि परेको बताए । उनले प्रदेश १ को विराटनगर, धरान र गोठगाउँ गरि ३ ठाउँमा कोरोनाको उपचार भइरहेकोमा अब झापा, सुनसरी र उदयपुरमा समेत उपचार केन्द्र स्थापना गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।
बिहीबार डिस्चार्ज भएकाहरुमध्ये झापाका १३ मोरङका ९ सुनसरीका १४ भोजपुरका ४ गरि ४० जना रहेका छन् । अस्पतालबाट डिस्चार्ज हुने क्रममा निको भएका संक्रमितहरुले प्रदेश सरकरले राम्रो व्यवस्थापनका साथ उपचार गराएको भन्दै खुशी व्यक्त गर्दै आफ्नो अनुभव समेत सुनाएका थिए । गोठगाउँस्थित अस्पतालमा हाल झापाका ४४, सुनसरीका ३७, उदयपुरका ४ ताप्लेजुङका १, इलामका २, पाँचथरका १ र भारतका १ गरि १ सय १८ जनाको उपचार भइरहेकोमा ४० जना डिस्चार्ज भएपछि अब ७८ जना रहेका छन् ।